काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट गोरखा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रकाशचन्द्र दवाडी ले आफ्नो चुनावी घोषणा–पत्र सार्वजनिक गरेका छन्। मंगलबार आयोजित कार्यक्रममा उनले ‘कृषि, पर्यटन र दिगो पूर्वाधार, समग्र गोरखाको विकासको आधार’ भन्ने मूल नारासहित घोषणा–पत्र सार्वजनिक गरेका हुन् । घोषणा–पत्रमा ‘विधिको शासन, जवाफदेहिता र पारदर्शिता, विकास र रोजगारीका लागि युवा सहभागिता’लाई प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ ।
आफू निर्वाचित भए गोरखा क्षेत्र नं. २ अन्तर्गतका ३४ वटै वडा कार्यालयसम्म पुग्ने मुख्य सडकहरू पाँच वर्षभित्र स्तरोन्नति गरी कालोपत्रे गर्ने अठोट उनले व्यक्त गरेका छन् । निर्माणाधीन तथा अलपत्र परेका आयोजनाहरू समयमै सम्पन्न गर्न विशेष पहल गरिने प्रतिबद्धता जनाइएको छ। क्षेत्रभित्रका सबै गाउँबस्ती जोड्ने मुख्य तथा सहायक सडक, कृषि सडक तथा अन्य पहुँच मार्गलाई बाह्रै महिना सञ्चालनयोग्य बनाइने योजना अघि सारिएको छ ।
संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी पूर्वाधार विकासलाई तीव्रता दिइने उनको भनाइ छ । गोरखा नगरपालिका तथा अन्य पालिकामा सडक, खानेपानी र ढल निकास व्यवस्थापन सुधारका साथै विद्युतीय सेवा विस्तारका लागि पहल गरिने उल्लेख गरिएको छ । खेलकुद क्षेत्रको विकासका लागि खेलमैदान व्यवस्थित गरी राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिने तथा आवश्यक प्रशिक्षणको व्यवस्था गरिने योजना घोषणा–पत्रमा समेटिएको छ ।
हाल सञ्चालनमा रहेका प्राविधिक शिक्षालयहरूमा समयानुकूल विषय थप गरिने तथा प्रत्येक गाउँपालिकामा ‘मेगा विद्यालय’ स्थापना गर्न नीतिगत पहल गरिने उल्लेख गरिएको छ । शिक्षा क्षेत्रमा कृत्रिम बुद्धिमत्ता, रोबोट प्रविधि र साइबर सुरक्षासम्बन्धी तालिम सञ्चालन गरिने योजना अघि सारिएको छ । सबै विद्यालयमा डिजिटल प्रविधियुक्त कक्षाकोठा स्थापना गरिनुका साथै गुणस्तरीय सञ्चार तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक पहल गरिने प्रतिबद्धता जनाइएको छ ।
स्वास्थ्यतर्फ विपन्न स्वास्थ्य सेवा कोष स्थापना गरी बालबालिका, ज्येष्ठ नागरिक, विपन्न तथा शारीरिक रूपमा अशक्त व्यक्तिहरूको उपचारमा सहयोग गरिने उल्लेख गरिएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई सरल र प्रभावकारी बनाइने तथा आकस्मिक स्वास्थ्य सेवा र रिफरका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
साथै मुटु रोग, क्यान्सर, दम, खोकी र मानसिक रोगलगायत नसर्ने रोगहरूको नियमित जाँच तथा परीक्षण सेवा सञ्चालन गरी समयमै रोग पहिचान, रोकथाम र उपचार सुनिश्चित गरिने योजना अघि सारिएको छ । घोषणा–पत्रमा मानव–वन्यजन्तु सहअस्तित्व कायम गर्दै आवश्यक नीतिगत व्यवस्था गरिने तथा वैदेशिक रोजगारीबाट फर्किन चाहने क्षेत्रका बासिन्दालाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन पहल गरिने उल्लेख गरिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


