काठमाडौं । हरेक वर्ष अप्रिल १५ लाई विश्व आरोग्य दिवसका रूपमा मनाउने नेपालको प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भएको छ । यस उपलब्धिलाई नेपालीका लागि खुशी र गौरवको विषय मानिएको छ ।
नेपाल सरकारका पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले यस निर्णयले विश्व स्वास्थ्य प्रवर्द्धनमा नेपालको योगदानलाई अझ सशक्त बनाएको बताएका छन् । उनले आफू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा रहँदा स्वास्थ्य उपचार सेवाको सुधारसँगै निरोधात्मक पक्षलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम अघि बढाइएको स्मरण गरे ।
उनका अनुसार स्वस्थ जीवनशैली प्रवर्द्धन, रोग लाग्न नदिन क्यान्सरसहितका विभिन्न स्क्रिनिङ कार्यक्रम, किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध एचपीभी खोप कार्यक्रम, विशिष्ट स्वास्थ्य संस्थामा मानसिक स्वास्थ्य परामर्श सेवा जस्ता आरोग्यता केन्द्रित कार्यक्रम सञ्चालन गरिएको थियो ।
महामन्त्री पौडेलले नेपालबाट सुरु भएको आरोग्यता प्रवर्द्धनको पहल विश्वभर फैलिनु सकारात्मक उपलब्धि भएको उल्लेख गर्दै यसले विश्व समुदायको स्वास्थ्य सुरक्षामा नेपालको योगदान थप स्पष्ट बनाएको बताए । साथै, उक्त प्रस्ताव पारित गराउने प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित संलग्न सबै निकाय र व्यक्तिहरूप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


