काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागको आयोजनामा ‘३० औँ मातृभाषा साहित्य श्रृङ्खला (सिर्जना, संवाद र विमर्श)’ कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार (२०८२ चैत २७ गते) कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा भाषिक विविधता, मातृभाषा साहित्यको संरक्षण र प्रवर्द्धनका विषयमा विशेष जोड दिइएको थियो । कार्यक्रमको विशेष आकर्षणका रूपमा ‘तीन कवि, तीन भाषा’ शीर्षकअन्तर्गत विभिन्न मातृभाषामा कविता वाचन गरिएको थियो। रितेश त्रिपाठीले भोजपुरी र प्रदीप जैसीले अछामी भाषामा कविता प्रस्तुत गर्दै भाषिक पहिचान र सांस्कृतिक विविधताको महत्व उजागर गरेका थिए ।
कार्यक्रमका सभाध्यक्ष तथा प्राज्ञ राजन मुकारुङले मातृभाषा साहित्यको संरक्षणका लागि निरन्तर पहल आवश्यक रहेको बताए । कार्यक्रमको उद्घाटन भुपाल राईले उद्घाटन मन्तव्यसहित गरेका थिए भने सदस्य सचिव डा. धनप्रसाद सुवेदी लगायत प्राज्ञहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा शेर्पा भाषाको पहिलो पत्रिकाको विमोचन समेत गरिएको थियो, जसका प्रधान सम्पादक राजन मुकारुङ रहेका छन् ।
साथै, पदम रानाले रानाथारु भाषासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सुदूरपश्चिमका कैलाली–कञ्चनपुर क्षेत्रमा बसोबास गर्ने रानाथारु समुदायको इतिहास, जीवनशैली र कृषि आधारित पेशाबारे जानकारी गराएका थिए । उनले रानाथारु समुदायको ९७ प्रतिशत जनसंख्या कृषिमा आबद्ध रहेको उल्लेख गरे ।
त्यसैगरी, किरण बरामले बराम भाषासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै बराम समुदायको लोकजीवन, भेषभूषा, चाडपर्व तथा सामाजिक संरचनाबारे प्रकाश पारे । उनका अनुसार नेपालका विभिन्न जिल्लामा बसोबास गर्ने बराम समुदाय गोरखा जिल्लामा बढी मात्रामा बसोबास रहेको छ। उनले बराम भाषालाई अझैसम्म सरकारी पाठ्यक्रममा समेट्न नसकिएको विषयलाई चुनौतीका रूपमा औंल्याए। कार्यक्रममा सिर्जना, संवाद र विमर्शमार्फत मातृभाषा साहित्यको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे गहन छलफल गरिएको थियो । उनीहरूले मातृभाषामा लेखन तथा प्रकाशन प्रवर्द्धनका लागि नीतिगत तथा संस्थागत सहयोग अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन प्राज्ञ सदस्य तथा सञ्चार संयाेजक चेतनाथ धमलाले कुशल, व्यवस्थित र प्रभावकारी ढङ्गले गरेका थिए । सहज र स्पष्ट प्रस्तुतीकरणले सम्पूर्ण कार्यक्रमलाई थप अनुशासित र प्रभावशाली बनाउन महत्वपूर्ण योगदान पुर्याएको थियो । उक्त कार्यक्रममा प्राज्ञ, साहित्यकार, अनुसन्धानकर्ता तथा भाषा–संस्कृतिप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले भाषिक विविधताको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले यस्ता साहित्यिक श्रृङ्खलालाई निरन्तरता दिँदै मातृभाषा साहित्यको उन्नयनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको पाइन्छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


