Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

गोरखामा खुल्ला ठाडो भाका प्रतियोगिता सम्पन्न, लमजुङका मानसिंह दुरा समूह प्रथम


ग्लोबल पाना
आइतबार, वैशाख १३ २०८३
  • 231
    SHARES

  • images
    गोरखामा खुल्ला ठाडो भाका प्रतियोगिता सम्पन्न, लमजुङका मानसिंह दुरा समूह प्रथम

    गोरखा । गोरखामा पहिलो पटक आयोजना गरिएको खुला ठाडो भाका प्रतियोगिता सम्पन्न भएको छ। भूकम्प स्मृति दिवसको अवसर पारेर रानीपोखरी परिसरमा ठाडो भाका संरक्षण तथा प्रवर्द्धन समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा गोरखासहित लमजुङ, तनहुँ र कास्कीका १५ टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा लमजुङको सुन्दरबजार नगरपालिका–११, ठूलो स्वाँराका मानसिंह दुरा नेतृत्वको समूह प्रथम बन्दै ८० हजार रुपैयाँ नगद पुरस्कार जितेको छ। उक्त समूहमा लिला दुरा, मानसिंह दुरा, कुमार दुरा, धनमाया दुरा र विष्णु दुरा सहभागी थिए। सोही समूह यसअघि २०७८ सालमा दोर्दीमा आयोजित ठाडो भाका प्रतियोगितामा पनि विजेता बनेको थियो ।

    images
    images
    images

    त्यस्तै, लमजुङको दुधपोखरी गाउँपालिका–२ का डम्मर राज घले नेतृत्वको टिम द्वितीय हुँदै ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। उक्त टिममा रोशन गुरुङ, लालमाया तामाङ, चिना तामाङ र क्यान्जाे तामाङ सहभागी थिए। तृतीय स्थान रमना भण्डारीको टिम र लमजुङ लोककला प्रतिष्ठानले प्राप्त गर्दै जनही २०/२० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र हात पारेका छन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः ८० हजार, ५० हजार र ३० हजार रुपैयाँ तोकिएको भए पनि तृतीयतर्फ दुई टिम भएकाले पुरस्कार बराबरी वितरण गरिएको आयोजकले जनाएको छ ।

    कार्यक्रमका मुख्य प्रायोजक गोरखा ब्रुअरी रहेको थियो। प्रथम पुरस्कार जोन घले (घले हार्भेस्टिङ, अष्ट्रेलिया), द्वितीय पुरस्कार खगिराम गुरुङ (हङकङ) र चित्रबहादुर गुरुङ (युके), तृतीय पुरस्कार धार्चे गाउँपालिका तथा सान्त्वना पुरस्कार मिना गुरुङ (युके)ले प्रायोजन गरेका थिए। प्रतियोगिताको मूल्यांकन निर्णायक मण्डल संयोजक अमर विरही गुरुङसहित हरिमाया गुरुङ, कृष्ण गुरुङ र धनबहादुर गुरुङले गरेका थिए भने कार्यक्रम सञ्चालन सागर गुरुङले गरेका थिए ।

    समापन समारोह ठाडो भाकाका ‘बादशाह’ भनेर चिनिने धम्पु दुराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उनले ठाडो भाकाको संरक्षणमा यस्ता प्रतियोगिता प्रभावकारी हुने बताए। कार्यक्रममा गायनमार्फत ठाडो भाकाको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै नव पुस्ताबाट गायिका चिजा तामाङ र पुरानो पुस्ताबाट विष्णुमाया गुरुङलाई सम्मान गरिएको थियो ।

    समितिका अध्यक्ष पृथ्वी गुरुङले ठाडो भाका लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणका लागि प्रतियोगिता महत्वपूर्ण पहल भएको बताए। उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ