काठमाडौं । स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै दक्षिण एसियाकै महत्वपूर्ण प्रदर्शनी ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ को नवौं संस्करण काठमाडौंमा आयोजना हुने भएको छ । एस डी प्रोमो मिडिया प्रालिले केमसान (CHEMSAN) नेपालसँगको सहकार्यमा आयोजना गर्न लागेको उक्त एक्स्पो २०२६ अप्रिल ३० देखि मे २ सम्म ९बैशाख १७ देखी १९ सम्म० ३ दिन भृकुटीमण्डप प्रदर्शनी स्थलमा सञ्चालन हुनेछ । आयोजकका अनुसार यस वर्षको संस्करण अहिलेसम्मकै सबैभन्दा ठूलो हुने अपेक्षा गरिएको छ ।
प्रदर्शनीमा नेपाल, भारतसहित विभिन्न देशका ४७५ भन्दा बढी प्रदर्शक सहभागी हुनेछन् भने ८०० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्ड र १,००० भन्दा बढी उत्पादन तथा सेवाहरू एकै स्थानमा प्रदर्शन गरिनेछ। यसले स्वास्थ्य सेवा र प्रयोगशाला विज्ञानका नवीनतम प्रविधि, उपकरण तथा समाधानहरूलाई नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्नेछ । तीन दिनसम्म चल्ने यस एक्स्पोलाई स्वास्थ्य सेवा, औषधि (फार्मास्युटिकल) तथा अनुसन्धान क्षेत्रका लागि महत्वपूर्ण ‘बीटुबी’ प्लेटफर्मका रूपमा लिइएको छ ।
यसले व्यापारिक सहकार्य विस्तार, स्रोत पहिचान, प्रविधि आदान–प्रदान तथा उच्चस्तरीय नेटवर्किङका लागि उपयुक्त वातावरण सिर्जना गर्ने आयोजकको विश्वास छ । प्रदर्शनीमा सिमेन्स, फिलिप्स, फुजीफिल्म, थर्मो फिसर साइन्टिफिक, ह्युमन डायग्नोस्टिक, स्निबे, ड्रागर र सीटीके बायोटेकजस्ता विश्वप्रसिद्ध ब्रान्डहरूको सहभागिता सुनिश्चित भइसकेको छ। यसले नेपालमा आधुनिक स्वास्थ्य प्रविधिको प्रयोग विस्तार गर्न र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
आयोजक एस डी प्रोमो मिडिया प्रालिका निर्देशक विवेक विक्रमका अनुसार नवौं संस्करणले स्थापित कम्पनी र नयाँ उद्यमी दुवैलाई आफ्ना आविष्कार तथा उत्पादन प्रदर्शन गर्ने, नयाँ साझेदारी निर्माण गर्ने र उद्योगको समग्र विकासमा योगदान पुर्याउने अवसर प्रदान गर्नेछ । उक्त एक्स्पो विशेषगरी अस्पताल, नर्सिङ होम, डायग्नोस्टिक सेन्टर, औषधि कम्पनी, अनुसन्धान संस्था, विश्वविद्यालय, मेडिकल कलेज, ब्लड बैंक तथा खाद्य तथा सामग्री परीक्षण प्रयोगशालासँग सम्बन्धित निर्णयकर्ता तथा खरिद पेशेवरहरूलाई लक्षित गरिएको छ ।
साथै दक्षिण एसियाभरका विदेशी खरिदकर्ताहरूको समेत सहभागिता रहने जनाइएको छ । नेपालमा स्वास्थ्य सेवा र प्रयोगशाला क्षेत्रमा बढ्दो प्रविधि आवश्यकताबीच यस्तो अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीले ज्ञान, प्रविधि र व्यवसायिक सहकार्य विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


