काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मल्होत्राले मुलुकमा देखिएको राजनीतिक स्थिरता र तीव्र गतिमा अघि बढिरहेको डिजिटल रूपान्तरणले आर्थिक समृद्धिको नयाँ आधार तयार पार्ने बताएका छन् । शनिबार (वैशाख १९) काठमाडौंमा बाह्रखरी मिडियाले आयोजना गरेको ‘इकोनोमिक सिम्पोजियम’मा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । उनका अनुसार नेपाल अहिले एक महत्वपूर्ण संक्रमणकालीन चरणमा रहेको छ ।
करिब दुईतिहाइ बहुमतसहितको सरकार गठन भएसँगै जनस्तरमा आशा र सकारात्मक ऊर्जा बढेको उनले बताए। विगत ३६ वर्षको बहुदलीय व्यवस्थामा सरकार परिवर्तनको चक्र दोहोरिँदा विकासको गति अपेक्षाअनुसार अघि बढ्न नसकेको उनको भनाइ थियो । मल्होत्राले वर्तमान सरकारले आफ्नो कार्यकाल पूरा गर्ने विश्वास व्यक्त गर्दै यसले नीतिगत स्थायित्व सुनिश्चित गर्ने बताए । “राजनीतिक स्थिरता नै आर्थिक वृद्धिको मूल आधार हो ।
यसले लगानीकर्ताको विश्वास बढाउँछ र दीर्घकालीन विकासका लागि वातावरण तयार गर्छ,” उनले उल्लेख गरे । उनले अबको नेपालको प्राथमिकता डिजिटल रूपान्तरणलाई तीव्र बनाउनु र फाइभजी प्रविधिको सुरुआत गर्नु हुनुपर्नेमा जोड दिए । डिजिटल पूर्वाधारलाई अब विलासिताभन्दा बढी अनिवार्य आवश्यकताको रूपमा लिनुपर्ने उनको धारणा थियो। यसले शिक्षा, स्वास्थ्य, ई–कमर्स र सुशासनका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने उनले बताए ।
डिजिटल पूर्वाधार सुदृढ हुँदा युवा उद्यमशीलतालाई पनि थप ऊर्जा मिल्ने र आधुनिक अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने मल्होत्राको विश्वास छ । कार्यक्रममा सहभागी भारतीय नीति–निर्माता अमिताभ कान्तको योगदानको प्रशंसा गर्दै उनले नेपाल–भारतबीचको आर्थिक र रणनीतिक सहकार्य अझ सुदृढ हुने अपेक्षा व्यक्त गरे । विशेष गरी पर्यटन, डिजिटल अर्थतन्त्र र सीमापार लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।
नेपाल र भारतबीचको भौगोलिक तथा सांस्कृतिक निकटतालाई सदुपयोग गर्दै संयुक्त पर्यटन सर्किट विकास गर्न सके ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने र यसले राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउने उनको भनाइ थियो । बाह्रखरी मिडियाद्वारा आयोजना हुँदै आएको यस्तो कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न र पर्यटन क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको पनि उनले उल्लेख गरे ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


