काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. २३ ले रञ्जना लिपिको संरक्षणका लागि वडाभित्रका व्यवसायको परिचय पाटी रञ्जना लिपिमा राख्न सुरु गरेको छ । वडामा व्यवसाय दर्ता गरेका र नियमित कर तिर्ने ५० जना करदातालाई उपहार स्वरुप पहिलो चरणमा बत्ती जडित वोर्ड जडान गरिदिएको हो । वोर्ड जडान कार्यको निरीक्षणका लागि कार्यवाहक प्रमुख डंगोल झोछेँ पुग्नुभएको थियो ।
कार्यक्रमको पहिलो चरणमा जुद्ध शालिकबाट वसन्तपुरतर्फ, नौतले दरबारबाट झोछेँ हुँदै ओमवहालतर्फका व्यवसायीको व्यवसायमा परिचय पाटी जडान गरिएको छ । गोलाकार वोर्डको माथिल्लो भागमा साना अक्षरमा अंग्रेजी भाषा, बिचमा ठुलो अक्षरमा रञ्जना लिपि र तल्लो भागमा देवनागरिक लिपिमा ठेगाना लेखिएको छ । यो डिजाइनका लागि क्यालीजात्रा फाउन्डेसनले सहयोग गरेको हो ।
कार्यक्रम कार्यान्वयनमा झोँछे सामुदायिक समाजले संयोजन गरिरहेको छ । ‘यो मौलिक र पर्यटकीय क्षेत्र हो । यो क्षेत्रको मौलिकता बचाउन र दृश्यात्मक सुन्दरता बढाउन हामीले यो काम अगाडि बढाएका हौँ ।’ वडाध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जन भन्नुहुन्छ, ‘रञ्जना लिपिको संरक्षण गर्न, व्यवसायहरुमा राखिने परिचय पाटीको आकार र शैलीमा एकरुपता कायम गराउन, करदातालाई कर तिर्न प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ ।’
महर्जनका अनुसार वडाभित्र करिव ७ सय व्यावसायी हुनुहुन्छ । दर्ता र नियमित कर तिर्ने करदातालाई चरणवद्ध रुपमा परिचय पाटी वितरण गर्दै लगिनेछ । सम्पदा संरक्षणकर्मी एवं स्थानीय गणपतिलाल श्रेष्ठले वडाको कामबाट झोँछे क्षेत्रको मौलिकता र पर्यटन व्यवस्थापन योजनामा टेवा दिएको प्रतिक्रिया दिनुभयो । साना तर महत्वपूर्ण कामबाट नतिजा आउने बताउँदै उहाँले कामको निरन्तरताको अपेक्षा राख्नुभयो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


