काठमाडौं । पहिचान नेपालको आयोजनामा “अपाङ्गता भएका महिलाहरुको सामाजिक तथा आर्थिक रूपान्तरणतर्फ मिडियाको कलम” विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समाजसेवी, सञ्चारकर्मी, महिला अधिकारकर्मी, अपाङ्गता अधिकार अभियन्ता तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विशेषज्ञ डा. विरेन्द्र राज पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा अपाङ्गता भएका महिलाहरुको सामाजिक अवस्था, आर्थिक अवरोध, वित्तीय बहिष्कार, एकल अपाङ्गता भएका महिलाको अवस्था, मधेसी महिला अपाङ्गता भएका महिलाहरुले भोगिरहेका चुनौती लगायतका विषयमा प्रकाश पार्नु भएको थियो । उहाँले पत्रकारहरुलाई दयामुखी पत्रकारिता नभई अधिकारमुखी पत्रकारितामार्फत अपाङ्गता भएका महिलाका सवाल उठाउन विशेष जोड दिनुभयो ।
त्यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी उपसचिव निरा अधिकारीले राज्यका नीति, कार्यक्रम तथा सेवामा अपाङ्गता भएका महिलाहरुको समान पहुँच सुनिश्चित गर्न सबै तहका निकाय संवेदनशील बन्न आवश्यक रहेको बताउनुभयो । उहाँले अपाङ्गता भएका दिदीबहिनीहरुको मुद्दालाई आफ्नै मुद्दा सम्झेर निरन्तर काम गरिरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, अपाङ्गता भएका महिलाको सामाजिक, आर्थिक तथा राजनीतिक सशक्तीकरणका लागि सरकारी संयन्त्र, सञ्चारमाध्यम र नागरिक समाजबीच सहकार्य अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
पहिचान नेपालकी कार्यकारी निर्देशक इक्ष्या केसीले अपाङ्गता भएका महिलाका मुद्दा अझै पनि सञ्चारमाध्यम र सार्वजनिक बहसमा पर्याप्त रूपमा स्थान पाउन नसकेको बताउँदै उनीहरुको आवाजलाई नीति निर्माणदेखि सामाजिक रूपान्तरणसम्म प्रभावकारी रूपमा स्थापित गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो । उहाँले अपाङ्गता भएका महिलाको सवाललाई दया वा सहानुभूतिभन्दा माथि उठेर अधिकार, समानता र सम्मानको दृष्टिकोणबाट प्रस्तुत गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा अपाङ्गता भएका महिलाले भोगिरहेका सामाजिक बहिष्करण, हिंसा, गरिबी, शिक्षा तथा रोजगारीमा सीमित पहुँच, सूचना र सेवाको अभावलगायतका चुनौतीबारे गहन छलफल गरिएको थियो । सहभागीहरुले सञ्चारमाध्यमले अपाङ्गता भएका महिलाको आवाजलाई केवल समस्याका रूपमा नभई उनीहरुको क्षमता, नेतृत्व, उपलब्धि र योगदानलाई समेत प्राथमिकताका साथ उजागर गर्नुपर्नेमा जाेड दिनु भएकाे थियाे ।
कार्यक्रममा लक्ष्मी सापकोटा र प्रशंसा केसीले अपाङ्गता भएका महिलाले समाजमा भोग्नुपरेका चुनौती, आत्मविश्वास र निरन्तर प्रयासमार्फत हासिल गरेका उपलब्धिबारे अनुभव साझा गर्नुभएको थियो । साथै, लक्ष्मी सापकोटालाई २६ वर्षको अन्तरालपछि एसईई परीक्षामा सहभागी भई A+ ग्रेड ल्याउन सफल भएकोमा पहिचान नेपालको तर्फबाट विशेष सम्मान गरिएको थियो । कार्यक्रममा सहभागीहरुले उहाँको सफलतालाई अपाङ्गता भएका महिलाहरुका लागि प्रेरणादायी उदाहरणका रूपमा लिएका थिए ।
छलफलमा विशेषगरी एकल, मधेसी, दृष्टिविहीन तथा अन्य सीमान्तकृत पृष्ठभूमिका अपाङ्गता भएका महिलाले बहुआयामिक विभेद र असमानताको सामना गरिरहेको विषय उठाइएको थियो । उनीहरुको अनुभव, आवश्यकता र योगदान सार्वजनिक बहस तथा सञ्चारमाध्यममा पर्याप्त रूपमा प्रतिनिधित्व हुन नसकेको उल्लेख गरिएको थियो ।
पहिचान नेपालकी कार्यक्रम अधिकृत जेनिशा महर्जनले सहजिकरण गर्नु भएको यस कार्यक्रममा सहभागीहरुले समाचार, लेख, बहस तथा अन्य सञ्चार सामग्रीमा समावेशी र उत्तरदायी ढंगले विषयवस्तु प्रस्तुत गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका थिए । साथै, सञ्चारमाध्यम, नागरिक समाज र सरोकारवालाबीच सहकार्य विस्तार गर्दै अपाङ्गता भएका महिलाको आवाजलाई नीति, कार्यक्रम तथा सार्वजनिक बहसमा प्रभावकारी रूपमा स्थापित गर्न आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


