काठमाडौं । राधा पौडेल फाउण्डेशनको आयोजना तथा विभिन्न संघ संस्थाको सहयोगमा काठमाडौँमा अपाङ्गता भएका महिलाहरूलाई सचेतना, सम्मान र सशक्तीकरणको लागि दिगो र मर्यादित महिनावारी व्यवस्थापन सम्बन्धी ३ दिने तालिम प्रदान गरेको छ । "मर्यादित महिनावारी, हामी सबैको जिम्मेवारी" भन्ने नारा सहित जेठ १३ गते देखि १५ गते सम्म काठमाडौँमा आयोजना गरिएको तालिमको पहिलो दिन मस्तिष्क पक्षाघात अपाङ्गता भएकी महिला रेवती कार्कीले सबै सहभागीहरूलाई स्वागत गर्दै यस तालिममा सिकेका कुराहरूलाई आफ्नो जीवनमा सही उपयोग गर्नु हुन आग्रह गर्दै तालिमको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
तालिमको पहिलो दिनमा सहभागी अपाङ्गता भएका महिलाहरूलाई तपाईँले पहिलो पटक महिनावारीका विषयमा कति वर्षको उमेरमा थाहा पाउनु भयो र तपाईँलाई त्यो समयमा कस्तो अनुभव भयो भन्ने विषयमा चार्ट पेपरमा लेखेर प्रस्तुतीकरण गर्न लगाइएको थियो । सो ३ दिने तालिममा राधा पौडेल फाउण्डेशनका कार्यक्रम संयोजक सपना पौडेल, अध्ययन अनुसन्धान अधिकृत शर्मिला भण्डारी, IT लाल शरण चलाउने र कार्यक्रम सहायक आइसा सानवादले तालिमको सहजीकरण गर्दै मर्यादित महिनावारीका विषयमा तालिम प्रदान गर्नु भएको थियो ।
राधा पौडेल फाउण्डेशनले अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालन गरिएको ३ दिने मर्यादित महिनावारी तालिममा महिनावारी भनेको के हो ?, महिनावारी विभेद, मर्यादित महिनावारीका विषयमा जानकारी दिनु भएको थियो भने नेपालमा महिनावारीलाई ५४ वटा नामले संवोधन गरिने, महिनावारीका ५ हजार भन्दा बढी शब्दहरू रहेको पनि जानकारी गराउनु भयो ।
त्यसै गरी प्रशिक्षकहरूले महिनावारी विभेद र शक्ति तथा पितृ सत्ताको निर्माण, महिनावारी विभेदको प्रभावका विषयमा पनि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । साथै महिनावारी विभेदले बालबालिकाको बाँच्न पाउने अधिकारमा कस्तो प्रभाव / असर गरेको छ, विद्यालयमा पठन पाठन कायम राख्न र बालविवाह रोक्न मर्यादित महिनावारीको भूमिका विषयमा समूहगत रूपमा छलफल गरी कार्यपत्र प्रस्तुत गरिएको थियो । ३ दिने तालिमका क्रममा २०७५ को नियम ८५ बमोजिम मर्यादित महिनावारीका लागि विगतका दिनमा सांसदहरूले गरेको सङ्कल्प प्रस्तावको भिडियो हेरेर यस विषयमा पनि छलफल गरियो ।
त्यसै गरी राधा पौडेल फाउण्डेशनकी अध्ययन अनुसन्धान अधिकृत शर्मिला भण्डारीले काठमाडौँ विश्व विद्यालयसँग मिलेर मर्यादित महिनावारीका विषयमा गरेको अध्ययन अनुसन्धान रिपोर्ट प्रस्तुत गर्नु भएको थियो । यसै क्रममा कार्यक्रम संयोजक सपना पौडेलले राधा पौडेल फाउण्डेशनका विषयमा र यस फाउण्डेशनले मर्यादित महिनावारीका सवालमा गर्दै आएका कार्यक्रमहरू तथा गतिविधिका बारेमा जानकारी गराउनु भयो ।
तालिममा सहभागीहरूलाई नेपालमा महिनावारीका समयमा प्रयोग गरिने सामग्रीहरू ११ प्रकारका रहेको र ती मध्ये केही सामग्रीहरूको पनि अवलोकन गराइएको थियो । तालिममा सहभागी पूर्ण शारीरिक अपाङ्गता भएकी महिला मुना शाक्यले यो मर्यादित महिनावारीको तालिममा पहिलो पटक सहभागी हुन पाएको र यस तालिमबाट धेरै नै जीवन उपयोगी कुराहरू सिक्न पाएको भन्दै आयोजकलाई धन्यवाद व्यक्त गर्नु भयो ।
त्यसै गरी सहभागी मध्येकै सुनाई सम्बन्धी अपाङ्गता भएकी महिला रविता देउलाले मर्यादित महिनावारी सम्बन्धी यस तालिमबाट महिनावारीको व्यवस्थापन, सामाजिक दृष्टिकोण, यस विषयमा ल्याउनु पर्ने जनचेतना लगायतका धेरै विषयमा प्रस्ट भएको भन्दै आगामी दिनमा यस्ता तालिममा दसै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई सहभागी गराउन आग्रह गर्दै आयोजक टिमलाई धन्यवाद व्यक्त गर्नु भयो ।
राधा पौडेल फाउण्डेशनले अपाङ्गता भएका व्यक्तिहरूका लागि काठमाडौँमा आयोजना मर्यादित महिनावारी सम्बन्धी ३ दिने तालिममा शारीरिक, दृष्टिविहीन र बहिरा अपाङ्गता भएका महिला पुरुष गरी २१ जनाको सहभागिता रहेको थियो भने सबै सहभागीहरूलाई प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


