ललितपुर । नेपाल सरकारले वर्गीकरण गरेको १० प्रकारका अपाङ्गता मध्ये बौद्धिक अपाङ्गता पनि एक हो । यी नै बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकार सुनिश्चित गर्नका लागि बौद्धिक अपाङ्गताका अभिभावकहरूद्वारा वि.स.२०६८ साल जेठ १८ गते काठमाडौँमा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको स्थापना गरिएको थियो । यस संस्थाले स्थापनाकाल देखि नै बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकारका लागि काम गर्नै आएको र यसै क्रममा हाल सम्म ५० वटा जिल्लाहरूमा सदस्य संस्थाहरूको स्थापना गरेर काम गरिरहेको छ ।
यसै क्रममा जेठ १८ गते विभिन्न कार्यक्रमहरूको आयोजना गरेर बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको १६ औ स्थापना दिवस मनाइएको छ । यस दिवसको अवसरमा अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था तथा गैर संस्थाहरुले संस्थाको अझै उन्नति प्रगतिको शुभकामना पठाएका थिए । ललितपुरमा आयोजना गरिएको उक्त कार्यक्रममा संस्थाकी उपाध्यक्ष शिला थापाले सबैलाई स्वागत गर्दै सबैको साथ र सहयोगले १६ औ स्थापना दिवस मनाउने अवसर मिलेको भन्दै यस संस्थाको स्थापना दिवसको अवसरमा पहिलो बौद्धिक अपाङ्गता दिवस भनी घोषणा गर्ने जानकारी दिँदै यो दिवसलाई सरकारले मान्यता दिनु पर्ने र सरकारको नेतृत्वमा मनाउने वातावरण बनाउनका लागि सबैले पहल गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
साथै उहाँले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई हेरिने सामाजिक दृष्टिकोणमा पूर्ण रूपमा सकारात्मक परिवर्तन आउन नसक्दा विभिन्न चुनौतीहरूको सामना गर्न परेको भएता पनि उनीहरूको हक हितको लागि अभिभावकहरूले विगतका दिनमा पनि लागि परेको र आगामी दिनमा पनि लागि पर्ने बताउनु भयो । बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको १६ औ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि एवं प्रतिनिधि सभा सदस्य तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य प्रेम बहादुर वयकले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भयो ।
यसै क्रममा उहाँले बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल १६ औ वर्षमा प्रवेश गरेकोमा संस्थाको उन्नति प्रगतिको कामना गर्दै यसै स्थापना दिवसको अवसरमा बौद्धिक अपाङ्गता दिवस घोषणा गरेकोमा बधाई पनि व्यक्त गर्नु भयो । कार्यक्रममा उहाँले अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकारका सवालमा संसदमा आवाज उठाउने, अपाङ्गता भएका व्यक्तिहरूले पनि मानव भएर बाँच्न पाउनु पर्ने कुरामा जोड दिनु भयो । त्यसै गरी उहाँले राज्यलाई अपाङ्गताका सवालमा नीति निर्माणमा पहल गर्नुका साथै भएका ऐन कानुन तथा नीति नियमहरूको कार्यान्वयन लागि पनि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनु भयो ।
संस्थाको स्थापना दिवसका अवसरमा संस्थापक अध्यक्ष, अपाङ्गता जगतकी धरोहर, अभिभावक आदरणीय सुवर्ण केशरी चित्रकारलाई सम्मान पत्रद्वारा सम्मान पनि गरिएको थियो । सो कार्यक्रममा बौद्धिक अपाङ्गता भएका व्यक्ति, स्ववकालतकर्ता तथा बौद्धिक अपाङ्गता संघ नेपालका अध्यक्ष शिव श्रेष्ठले संस्थाको स्थापना दिवस तथा बौद्धिक अपाङ्गता दिवसको सबैलाई शुभकामना दिँदै बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई दया, माया भन्दा पनि सीप र अवसर प्रदान गरिनु पर्ने साथै क्षमता र सीपका आधारमा रोजगारको अवसर दिनु पर्ने कुरामा जोड दिनु भयो ।
त्यसै गरी संस्थाका अध्यक्ष रामनारायण श्रेष्ठले यस संस्थाको स्थापना दिवसको अवसरमा शुभकामना दिनु हुन सम्पूर्ण संस्थाहरूलाई धन्यवाद दिँदै बौद्धिक अपाङ्गता दिवस मनाउने घोषणा गरेको र यस दिवसलाई मनाउनका लागि सरकारी प्रक्रिया अगाडी बढाउन सबैले पहल गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा संस्थाका महासचिव टिकाराम सापकोटाले बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको १६ औ स्थापना दिवसका अवसरमा "Nothing about us, without UNDERSTANDING" " हाम्रो बारे निर्णय, हामीसँगै, हामीलाई बुझेर " भन्ने नारा तय गरिएको बौद्धिक अपाङ्गता दिवस घोषणा पत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालकी अध्यक्ष निर्मला धिताल, नेपाल नेत्रहीन संघका अध्यक्ष शिशिर खनाल, काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्य महेश नेपाली, CBM का मिलन पौडेल, यसै संस्थाका निवर्तमान अध्यक्ष राजु बस्नेत, महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी अधिकृत अनुपा राई, राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रीय सदस्य महेश्वर घिमिरे, Special Gust Simone Murphy Ernest, The First Lady : the Ambassador of Australia Nepal लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


