चितवन । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन नजिकिँदै जाँदा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । यसै क्रममा चितवनबाट प्रतिनिधित्व गर्दै त्रिलोचन कडेलले खस–आर्यतर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी प्रस्तुत गरेका छन् । कंडेलले पार्टी संगठनलाई थप सुदृढ, गतिशील र प्रभावकारी बनाउने उद्देश्यसहित आफ्नो उम्मेदवारी अघि सारेका हुन् । नेपाली कांग्रेसका मूल आदर्श ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ लाई आत्मसात् गर्दै पार्टीको नीति, विचार र संगठनलाई थप मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गर्ने उनले बताएका छन् । कडेल नेपाली कांग्रेसको विभिन्न तहमा जिम्मेवारी निर्वाह गर्दै आएका नेता हुन् ।
चितवन उद्योग संघका पूर्वअध्यक्ष हुँदै उद्योग परिसंघको अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका कडेलले पोल्ट्री क्षेत्रका विभिन्न संघसंस्थामा जिल्ला तहदेखि केन्द्रीय तहसम्म नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । हाल उनी पोल्ट्री महासंघका सचिवका रूपमा कार्यरत छन् । पार्टी संगठनसँगै निजी क्षेत्र र व्यवसायिक क्षेत्रमा लामो समयको अनुभव हासिल गरेका कंडेलले आफूले प्राप्त गरेको अनुभवलाई पार्टीको नीतिगत तहमा उपयोग गर्ने उद्देश्यले महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी दिएको बताएका छन् ।
निजी क्षेत्रका समस्या, उद्योग–व्यवसायका चुनौती तथा आर्थिक क्षेत्रका विषयलाई नीतिगत रूपमा सम्बोधन गर्न आफ्नो अनुभवलाई पार्टीमार्फत उपयोग गर्ने उनको भनाइ छ । उनले पार्टीका विभिन्न तहमा निर्वाह गरेका जिम्मेवारी, संगठनप्रतिको निरन्तर सक्रियता र निजी क्षेत्रबाट हासिल गरेको अनुभवलाई आगामी भूमिकामा उपयोग गर्दै कांग्रेसलाई समयअनुकूल थप सशक्त र जनमुखी बनाउन योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यसैगरी, कार्यकर्ता र नेतृत्वबीचको सम्बन्धलाई अझ मजबुत बनाउने, संगठनलाई प्रभावकारी बनाउने तथा पार्टीका नीति, विचार र सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्न आफ्नो उम्मेदवारी केन्द्रित रहेको कडेलले बताएका छन् । कडेलले महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई अमूल्य मत, साथ र समर्थन प्रदान गर्न पार्टीका प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरूसँग आग्रह गरेका छन् । उनको प्रचार अभियानमा ‘भव्यताका साथ सफल पारौँ’ भन्ने सन्देशसहित खस–आर्यतर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि आफ्नो उम्मेदवारीलाई समर्थन गर्न अपिल गरिएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


