काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ। त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वणर्न गरिएको छ।
भगवान् विष्णुको छैटौँ अवतारका रुपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रुपमा उत्पत्ति भएको वणर्न विभिन्न ग्रन्थमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निणर्ायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए।
सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ। अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएको थियो। पितृ आज्ञा पालना गर्न राम वनवास जाँदा सँगै गएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको कथा पुराणमा उल्लेख छ।
रावणलगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी सीताले महारानीको पद त्याग गरेर गर्भिणी भए पनि वनवास हिँडेकाले आदर्श नारीका रुपमा सम्झना गरिन्छ।
अयोध्या त्याग गरे पनि मन, वचन र कर्मले पति रामप्रति समर्पित रहेको, लव, कुश दुई छोरालाई वाल्मीकि आश्रममा राखेर शिक्षा दीक्षाले निपुण बनाइ अयोध्या फर्काएका कारण पनि सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको धर्मशास्त्रविद् भट्टराई बताउँछन्।
अयोध्यामा आएका लव, कुशले रामायणको कथा एवं सीता निर्दोष भएर पनि वनमा बस्नुपरेको करुण गीत सुनाएपछि प्रजाको मागअनुसार सीतालाई ऋषि वाल्मीकिसहित दरबारमा बोलाइएको थियो।
दरबार आएकी सीताको धेरै अयोध्यावासीले स्वागत गरे पनि केहीले पवित्रताको विषयमा प्रश्न उठाएपछि सीताले ‘म पवित्र छु भने हे धर्तीमाता मलाई आफ्नो कोखमा लिनुस्’ भनी आह्वान गरी पृथ्वीभित्र लोप हुनुभएको वणर्न वैदिक ग्रन्थमा गरिएको छ।
प्रश्न उठाउने प्रजाले सीतासँग माफी मागे पनि उनी धर्तीको कोखमा लुप्त भएको प्रसङ्ग रामायणलगायत धर्म ग्रन्थमा उल्लेख गरिएको छ। यसरी माटोबाट उत्पत्ति भएकी सीता माटोमै लुप्त भएकी थिइन्।
सीता उत्पत्ति भएको भए पनि आजको दिनलाई सीता जयन्तीका रुपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ। यसैगरी जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गरेको छ। सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई स्मरण गर्दै सरकारले उनलाई राष्ट्रिय विभूतिका रुपमा सम्मान दिएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


