काठमाडौं । काठमाडौँ भित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन्।
काठमाडौँ महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका गत जेठ १९ गते एक सूचना जारी गरी असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्ने निणर्य गरेको थियो।
सोही निणर्यको कार्यान्वयन गर्दै आजदेखि जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका हुन्। काठमाडौँभित्रको बल्खु, कलंकी, बालाजु, माछापोखरी, गोंगबु, कोटेश्वरलगायत क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस पनि आजदेखि नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन्।
महानगरले आज बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालित टिकट काउण्टर हटाएको छ। कामपाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोंगबु, कलंकी क्षेत्रमा अव्यवस्थितरुपमा राखिएका टिकट काउण्टर हटाइएको जानकारी दिए।
उनका अनुसार महानगरको निणर्य कार्यान्वयन भएसँगै दैनिकरुपमा उपत्यका बाहिर सञ्चालित करिब दुई हजार सार्वजनिक यातायात बसपार्कभित्रबाट सञ्चालन हुनेछन्। “माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि लोत्से मल पछाडि पार्किङ र काउण्टरको व्यवस्था गरिएको छ”, प्रहरी प्रमुख पाण्डेले भने।
नयाँ बसपार्कभित्रबाट यातायात सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ टिकट काउण्टर निर्माणलाई तीव्रता दिएको छ। लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले काठमाडौँ महानगरपालिकाले गरेको निणर्यको कार्यान्वयनका लागि नयाँ बसपार्कभित्र जीप तथा माइक्रोबसलाई नयाँ काउण्टर निर्माणको काम भइरहेको बताए।
कामपाको निणर्यले सार्वजनिक यातायात सञ्चालन थप व्यवस्थित र भरपर्दो हुने उनको भनाइ थियो। माइक्रोबस तथा जीप समन्वय समितिका संयोजक राजेन्द्र आचार्यले नयाँ बसपार्कभित्रबाट सार्वजनिक यातायात सञ्चालन गर्न समिति लागिरहेको बताए। “कामपाले आजदेखि लागू हुने गरी लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक सवारी साधन नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निणर्य गरेकाले उक्त निणर्यको कार्यान्वयनमा लागेका छौँ”, उनले भने।
यसअघि नयाँ बसपार्कबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा वालिङ, बुटवल, भैरहवालगायत ठाउँका लागि ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए। त्यस्तै, कोटेश्वरबाट विपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र बल्खुबाट हेटौँडा चल्ने टाटासुमो सञ्चालन हुँदै आएका थिए।
नयाँ बसपार्कबाट सार्वजनिक यातायात सञ्चालनमा भएसँगै यसअघि सञ्चालन हुँदै आएका क्षेत्रमा निश्चित समयका लागि ‘पिक एण्ड ड्रप’को व्यवस्था गर्न संयोजक आचार्यले महानगरसँग आग्रह गरे।
काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्दै पार्किङका लागि कामपाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँबसपार्क सञ्चालनमा ल्याएको थियो।
एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा आठ सयभन्दा बढी सार्वजनिक सवारी साधन राख्न मिल्ने क्षमता रहेको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


