Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

लागुऔषध दुरुपयोगको असरसँग जुध्न गृहमन्त्रीको आह्वान


ग्लोबल पाना
सोमबार, असार ११ २०८०
  • 198
    SHARES

  • images
    लागुऔषध दुरुपयोगको असरसँग जुध्न गृहमन्त्रीको आह्वान

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध दुरुपयोगबाट पर्ने बहुआयामिक असरसँग जुध्नका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्। लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ का अवसरमा गृह मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा स्वस्थ, सभ्य र समुन्नत समाज निर्माणमा लागुऔषधको दुरुपयोगमा सचेत रहनुपर्नेमा जोड दिए।

    images
    images
    images

    उनले राज्यका सबै निकायसँगको समन्वय, सहकार्यमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न प्रवद्र्धनात्मक र उपचारात्मक कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पारे। “मूलुकको सर्वाङ्गिण विकास समृद्धि, शान्ति सुरक्षा र सुशासन कायम गर्ने दिशामा लागुऔषध अपराधविरुद्धको राष्ट्रिय ऐक्यबद्धता जुटाउन अपरिहार्य भएको छ”, उनले भने।

    गृहमन्त्री श्रेष्ठले लागुऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानुनले अंगीकार गरेका कार्यक्रम कार्यान्वयन गर्न सबै पक्षबाट इमान्दार प्रयासको आवश्यकता औंल्याए। “लागुऔषध दुरुपयोग रोकथाम र नियन्त्रण बहुसरोकारको विषय भएकाले सम्बद्ध निकायको समन्वय र सहकार्यबाट यसको उत्पादन, बिक्री वितरण, सञ्चय, ओसारपसार, उपचार तथा पुनःस्थापना, जोखिम न्यूनीकरण, बिरामीको सामाजिक पुनःस्थापना, जनचेतनालाई अभियानका रुपमा सञ्चालन गर्न आवश्यक छ”, उनले भने।

    गृहसचिव दिनेश भट्टराईले लागुऔषध प्रयोगकर्तामा देखा परेको गम्भीर स्वास्थ्य समस्या पारिवारिक विचलन, सामाजिक दुष्प्रभाव, अवैध कारोबार, आर्थिक अपराध एवं सुरक्षा संवेदनशीलताको हिसाबले समयमै सचेत रहनुपर्ने देखिएको बताए। राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले लागुऔषध नियन्त्रणका लागि व्यक्ति, समाज र राष्ट्रको एउटै पहल र प्रयासको आवश्यकता औंल्याए। नेपालमा एक लाख ३० हजार चार सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको गृहमन्त्रालयको तथ्यांक छ।

    नेपाल प्रहरीका अनुसार विसं २०७९ को चैतसम्म लागुऔषध अपराधमा चार हजार दुई सय २० जना पक्राउ परेको र अपराधमा संलग्नमध्ये लागुऔषधसँग सम्बन्धित अपराधको हिस्सा २० दशमवल ७३ प्रतिशत रहेको छ। हाल पाँच हजार नौ सय ११ लागुऔषध मुद्दाका कैदीबन्दी रहनुका साथै करिब पाँच हजार उपचार तथा पुनःस्थापना केन्द्रमा रहेको तथ्यांक छ।

    कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विभिन्न विद्यालयका तर्फबाट लागुऔषधसम्बन्धी सचेतनामूलक भिडियो र नाटक प्रस्तुत गर्नुका साथै कविता वाचन, नृत्य प्रदर्शनीसमेत गरिएको थियो। समारोहमा उपप्रधानमन्त्री श्रेष्ठले लागुऔषधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी योगदान पुर्‍याउने सुरक्षा फौज र विभिन्न संघ संस्थालाई प्रंशसापत्र प्रदान गरेका थिए।

    यसअघि लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन प्रभातफेरी निकालिएको थियो। भृकुटीमण्डपको खुला मैदानबाट सुरु भएको प्रभातफेरी भद्रकाली मन्दिर परिक्रमा गरी पुनः भृकुटीमण्डप हुँदै राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो।

    प्रभातफेरीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महाननिरीक्षक राजु अर्याल, मन्त्रालयका उच्च अधिकारी, विद्यार्थीलगायतको सहभागिता थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ