Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

‘लम्पी स्किन’को प्रकोपले ४०% दूधको उत्पादन घट्यो


ग्लोबल पाना
सोमबार, असार १८ २०८०
  • 274
    SHARES

  • images
    ‘लम्पी स्किन’को प्रकोपले ४०% दूधको उत्पादन घट्यो

    मलेखु । देशभर फैलिएको ‘लम्पी स्किन’को प्रत्यक्ष असर धादिङका दुग्ध उत्पादक किसानमा परेको छ। दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाई भैँसीमा सो रोग देखिएसँगै दूधको उत्पादन घटेको किसानले बताएका छन्।

    images
    images
    images

    भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको तथ्याङ्अनुसार लम्पी स्किनको प्रकोप देखिनुअघि दैनिक एक सय १४ मेट्रिकटन दूध उत्पादन हुँदै आएकामा अहिले ३० देखि ४० प्रतिशतले उत्पादन घटेको छ। रोगका कारण दुहुना गाई र भैँसी बिरामी पर्ने र मर्ने समस्याले दूध बेचेर घरायसी खर्च चलाउँदै आएका किसानको आम्दानीको स्रोत नै बन्द भएजस्तै बनेको छ।

    “रोग फैलिनुअघि दैनिक एक लाख लिटर दूध उत्पादन हुने अनुमानित तथ्यांक थियो, तर अहिले थोरैमा ३० प्रतिशत र बढीमा ४० प्रतिशतसम्म दूधको उत्पादन घटेको अनुमान लगाउन सकिन्छ”, पशु विकास अधिकृत डा सन्दिप सिलवाल भन्छन्, “रोगको सङ्क्रमण बढ्नेक्रम नरोकिएकाले दूधको उत्पादन अझ घट्न सक्छ।”

    भेटेरिनरी अस्पतालमा संकलन भएको तथ्यांकअनुसार हालसम्म धादिङ जिल्लामा आठ हजारभन्दा बढी गाईभैँसीमा लम्पी स्किनको संक्रमण देखिएको छ। त्यसमध्ये ७० प्रतिशतभन्दा बढी संक्रमण दुधालु गाई, भैँसीमा देखिएको सिलवालले जानकारी दिए। गाउँगाउँमा खटिएका प्राविधिकले पनि दूधको उत्पादनमा ५० प्रतिशतभन्दा बढीले घटेको बताएका छन्।

    गोरुभन्दा गाईमा नै संक्रमण बढी देखिएको नीलकण्ठ नगरपालिका-८ का पशु स्वयंसेवक इशु तामाङले बताए। “म जहाँ पुगेको छु त्यहाँ दुधालु पशु नै धेरै मरेको पाएको छु, सङ्क्रमणको दर बराबर जस्तै भए पनि असर दुधालु पशुमा नै देखिएको छ”, तामाङ भन्छन्, “दूध दिइरहेका र ब्याउने बेला भएका गाईमा रोगको संक्रमण देखिए पनि किसान चिन्तामा छन्।”

    स्थानीय तहले समयमै जानकारी नदिँदा जिल्लाको एकीन तथ्यांक आउन नसकेको पशु विकास अधिकृत डा सिलवालले बताए। जिल्लामा भएका १३ वटै स्थानीय तहले भेटेरिनरी अस्पताललाई जानकारी गर्नुपर्ने भए पनि स्थानीय तहबाट तथ्यांक लिनै कठिन भइरहेको उनको भनाइ छ।

    स्थानीय तहहरुले रोग नियन्त्रणका लागि गाउँगाउँमा प्राविधिक परिचालन गरिरहेको भने पनि रोग नियन्त्रण हुन सकेको छैन। विगत तीन महिनादेखि रोग देखा परे पनि हालसम्म यसको संक्रमण बढ्दो नै छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ