म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीको अधेरीखोला स्थित पहिरोले बेनी-जोमसोम सडकमा यातायात सञ्चालनमा जोखिम बनाएको छ । सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकमा दैनिक जसो यातायातका साधन आवतजावत बन्द हुने गरेको छ ।
सडक अवरुद्ध हुदा म्याग्दीको रघुगंगा, अन्नपूणर् गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तिर्थयात्री र पर्यटकहरु घण्टौंसम्म जाममा पर्ने गरेका छन् । पहिरो खसिरहने र सडक अवरुद्ध हुने समस्याले यात्रुलाई समयमा गन्तब्यमा पुग्न समस्या भएको छ। हिँडिरहेको अवस्थामा कुन बेला पहिरो खसेर पुर्छ भन्ने जोखिम र त्रास छ ।
सडकमाथिको करिब चार सय मिटर चौडाई र पाँच सय मिटर लम्बाईको पाखो पहिरोमा परिणत भएको छ। सडकमाथि पहाडको डिल छ । पहाडमाथिको पाखो सडकबाट देखिँदैन। पाखोबाट खस्ने ढुङ्गा र पहिरोले गुडिरहेका सवारी साधनलाई क्षति पुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको छ ।
७६ किलोमिटर दुरीको बेनी-जोमसोम सडकमा सिधा यातायात सञ्चालन नहुँदा आवत जावतका साथै आलु, स्याउ लगायत कृषि उपज निकासी प्रभावित भएको छ । पाखोमा बग्ने अवस्थामा रहेको ढुंगामाटोलाई सेना, प्रहरी र मजदुरले सडकमा खसालेर डोजरले पन्छाएर अस्थायीरुपमा सडक खुलाउने गरिएको छ ।
पहिरो पन्छाउन शत्रुभञ्ज्याङ गुल्मका सैनिक र जिल्ला प्रहरी कार्यालयको सुरक्षाकर्मीको साथै आयोजनाका कर्मचारी तथा मजदुर परिचालन गरिएको छ । केही दिनअघि भूमिगत पानी पाइपबाट बगाएर पहिरो रोकथामको प्रयास भएपनि सफल भएको छैन् । आकाशबाट पानी पर्ने बित्तिकै पहिरो चल्ने र सडकमा खस्ने समस्या छ ।
तत्काललाई जोखिम न्युनीकरणको उपाय, अवरुद्ध सडक खुलाउन डोजर तथा मजदुर परिचालनका साथै दीर्घकालिन समाधान गर्न माथिल्लो निकायमा पहल गरिएको आयोजना प्रमुख जगत प्रजापतिले बताए।
.gif)




 x 450 (H) Global Pana.jpeg)


