Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

जनजागृति ज्ञानरश्मि माविको नयाँ भवन निर्माणलाई स्थानीयको समर्थन


ग्लोबल पाना
मंगलबार, असोज २७ २०८३
  • 61
    SHARES

  • images
    जनजागृति ज्ञानरश्मि माविको नयाँ भवन निर्माणलाई स्थानीयको समर्थन

    काठमाडौँ । जनजागृति ज्ञानरश्मि माध्यमिक विद्यालय, बालाजुटारको नयाँ भवन निर्माण योजनालाई स्थानीयवासीले करतल ध्वनिसहित समर्थन गरेका छन्। विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं काठमाडौँ महानगरपालिका–१६ की वडा अध्यक्ष रोजिना श्रेष्ठले सार्वजनिक सुनुवाइमा सहभागी स्थानीयवासीलाई ताली बजाएर निर्माण योजनाको अनुमोदन गर्न आग्रह गरेपछि उनीहरूले करतल ध्वनिका साथ समर्थन जनाएका हुन्।

    images
    images
    images

    वडा अध्यक्ष श्रेष्ठले २०७२ सालको भूकम्पबाट क्षति पुगेको विद्यालयको भवन प्रयोग गर्न नमिल्ने भएपछि नयाँ भवन निर्माणको योजना अघि बढाइएको बताउनुभयो। विद्यालयमा अध्ययन गरेका विद्यार्थी डाक्टर, इन्जिनियरजस्ता प्रतिष्ठित नागरिक बनिसक्दा पनि विद्यालयको भौतिक अवस्था अपेक्षाअनुसार सुधार हुन नसकेको उल्लेख गर्दै उहाँले अब विद्यालयको स्वरूप परिवर्तन गर्नुपर्ने बताउनुभयो। विद्यालयको सम्पत्ति स्थानीयवासीको साझा सम्पत्ति भएकाले यसको संरक्षण र विकासमा समुदायको महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो। विद्यालयलाई उत्कृष्ट बनाउन शिक्षकहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उहाँले आवश्यक सुधारका लागि सबैलाई सल्लाह तथा सुझाव दिन आग्रह गर्नुभयो।

    साथै, विद्यालयको नयाँ भवन निर्माणलगायत भौतिक संरचना सुधारका लागि काठमाडौँ महानगरपालिका र वडा नं. १६ ले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। काठमाडौँ महानगरपालिकाको परीक्षा तथा कार्यक्रम महाशाखा प्रमुख सुशील सुवेदीले विद्यालयको नयाँ भवन निर्माणमा स्थानीय समुदायको समर्थन र सहकार्य महत्त्वपूर्ण हुने बताउनुभयो। पुरानो भवनसँग विद्यालय स्थापनाकालदेखि योगदान गर्ने व्यक्तिहरूको भावना जोडिएको उल्लेख गर्दै उहाँले उनीहरूकै उपस्थितिमा सार्वजनिक सुनुवाइ आयोजना गरिएको स्पष्ट पार्नुभयो।

    भवन निर्माणअघि कम्पाउण्ड बनाउने योजना रहेकाले यससम्बन्धी कुनै समस्या वा सुझाव भए खुला रूपमा राख्न आग्रह गर्दै उहाँले समुदायको समर्थन प्राप्त भएसँगै निर्माण प्रक्रिया अघि बढाइने बताउनुभयो। कुनै अवरोध नआए करिब डेढ वर्षभित्र भवन निर्माण सम्पन्न गर्न सकिने उहाँको विश्वास थियो। विद्यालयका प्रधानाध्यापक शिवराज पौडेलले विद्यालयको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी दिँदै नयाँ भवन निर्माणका लागि जग्गाको सिमाङ्कन, नक्सा स्वीकृति र बोलपत्र प्रक्रिया छिटो अघि बढाउन आग्रह गर्नुभयो।

    विद्यालयको सुरुआत पाटीचौरबाट भएको स्मरण गर्दै उहाँले २०४५ साल फागुन १ गतेदेखि विद्यालय सञ्चालनमा आएको र २०४६ साल वैशाख १ गते स्वीकृति प्राप्त गरी व्यवस्थित रूपमा अघि बढेको जानकारी दिनुभयो। २०७२ सालको भूकम्पले भवनमा क्षति पुर्‍याएपछि सुरक्षित र व्यवस्थित संरचनाको आवश्यकता बढेको उहाँले बताउनुभयो। विद्यालयको नयाँ भवन निर्माणमा काठमाडौँ महानगरपालिकाले गरेको सहयोगको प्रशंसा गर्दै उहाँले निर्माण प्रक्रिया छिटो अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। प्रस्तावित भवनको डिजाइन तथा योजना प्रस्तुत गर्दै इन्जिनियर सोना घिमिरेले बालाजुटारस्थित विद्यालयको करिब २.८२ रोपनी जग्गालाई ध्यानमा राखेर नक्सा तयार गरिएको जानकारी दिनुभयो।

    सुरक्षित र विद्यार्थीमैत्री वातावरणमा प्रारम्भिक बालविकास केन्द्रदेखि कक्षा १० सम्मको पठनपाठन सञ्चालन गर्न आवश्यक संरचना निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो। भवनको उचाइ १७ मिटरभन्दा बढी हुन नहुने प्रावधानलाई ध्यानमा राखेर १६ मिटरभित्र रहने गरी डिजाइन तयार गरिएको उहाँले जानकारी दिनुभयो। शिक्षक–अभिभावक सङ्घका अध्यक्ष कमलप्रसाद काफ्लेले २०७२ सालको भूकम्पपछि विद्यालयको भवनमा रातो स्टिकर टाँसिएको स्मरण गर्नुभयो। महानगरपालिकाले जग्गाको नापजाँच गरेको र छिमेकीहरूले समेत विद्यालयको विकासका लागि आफ्नो जग्गाको केही भाग आवश्यक परे सहयोग गर्ने प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो।

    नयाँ भवन निर्माणसँगै शिक्षक र विद्यार्थीले व्यवस्थित वातावरणमा शिक्षण–सिकाइ क्रियाकलाप अघि बढाउने दिन नजिकिँदै गएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो। विद्यालयका पूर्वप्रधानाध्यापक कृष्ण कुँवरले पुरानो भवन स्थानीयवासी र तत्कालीन जिल्ला विकास समितिको सहयोगमा विभिन्न कठिनाइका बीच निर्माण गरिएको स्मरण गर्नुभयो। नयाँ भवन निर्माण गर्दा सम्भव भए भूमिगत संरचना थपेर जग्गाको अधिकतम उपयोग गर्न सकिने सुझाव दिँदै उहाँले भौतिक पूर्वाधारसँगै विद्यार्थीको क्षमता अभिवृद्धि र व्यक्तित्व विकासमा पनि ध्यान दिनुपर्ने बताउनुभयो।

    विद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि सहयोग गर्दै आउनुभएका आत्मकृष्ण श्रेष्ठले कम्प्युटर शिक्षकको तलब दुई वर्षका लागि उपलब्ध गराएको जानकारी दिनुभयो। उहाँले नयाँ भवनमा प्रविधिमैत्री शिक्षालाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो। विद्यालयका पूर्वअध्यक्ष विष्णुनाथ सापकोटाले विगतमा आवश्यक भौतिक पूर्वाधारको अभावमा बिहान र दिउँसो गरी दुई सिफ्टमा विद्यालय सञ्चालन गर्नुपरेको स्मरण गर्नुभयो।

    दुई सिफ्टमा विद्यालय सञ्चालन गर्दा विभिन्न कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै उहाँले नयाँ भवन निर्माणपछि कक्षा १० सम्मको पठनपाठन एउटै संरचनामा व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने अवस्था बन्न लागेकोमा खुसी व्यक्त गर्नुभयो। विद्यालयका सल्लाहकार विश्वराम सापकोटाले सिस्नुघारी फाँडेर देउसीभैलो खेल्दै सहयोग जुटाएर विद्यालयको सुरुआत गरिएको इतिहास सुनाउनुभयो। विद्यालयको जग्गामा पार्कलगायत अन्य संरचना बनाउने विषयमा विगतमा विभिन्न चर्चा चले पनि विद्यालयले निरन्तरता पाउँदै यहाँसम्म आइपुगेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले नयाँ भवनमा डिजिटल बोर्डलगायत प्रविधिमैत्री शैक्षिक सामग्रीको व्यवस्था गर्न सुझाव दिनुभयो।

    विगतमा सिद्धार्थ वनस्थलीबाट पुराना डेस्कबेन्च ल्याएर विद्यार्थीलाई पढाइएको कठिन समयसमेत उहाँले स्मरण गर्नुभयो। स्थानीय अभिभावक तथा शिक्षासेवी नारायणप्रसाद गौतमले विद्यालय निर्माणका लागि आफूहरू लामो समयदेखि प्रयासरत रहेको बताउनुभयो। 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ