Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

स्याङ्जामा भदौमै पाक्न थाल्यो सुन्तला


ग्लोबल पाना
आइतबार, भदौ ३ २०८०
  • 444
    SHARES

  • images
    स्याङ्जामा भदौमै पाक्न थाल्यो सुन्तला

    गल्याङ (स्याङ्जा)। स्याङ्जामा भदौमै सुन्तला पाकेर बिक्रीका लागि तयारी गरिएको छ। पुतलीबजार नगरपालिका-११, मायाटारीका बोधराज अर्यालले लगाएको उन्सु जातको सुन्तला साउनको अन्तिम साताबाटै पाक्न सुरु भएको हो।

    images
    images
    images

    उनको फार्म करिब एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ। अर्यालको फार्ममा सुन्तला बँगैचामा उन्सुसहित १५ प्रजातिका १३ सय सुन्तला, अमिला जातका फलफूल, कफी, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनारलगायत ३५ भन्दा धेरै कृषिउपज उत्पादन हुन्छन् ।

    उहाँले वार्षिक रु १५ लाखको मात्र सुन्तला बिक्री गर्दै आएका छन्। शान्ति कफी ट्रेड र मायाटारी कफी उद्योग दर्ता गरेर उनले कृषि व्यवसाय सञ्चालन गरेका छन्। सुन्तला उत्पादनका लागि उपयुक्त हावापानी भएको स्याङ्जामा स्थानीयसहित विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन्।

    ‘साउनदेखि फागुनसम्म’ ताजा सुन्तला भन्ने नारासहित साउन, भदौमा उत्पादन दिने जापानिज उन्सु जातको सुन्तला लगाएको अर्यालले जानकारी दिए। “उन्सु जातको सुन्तला मात्र एक सय बोट छन्”, उनले भने, “अहिले ४० बोटले उत्पादन दिएका छन् भने ६० बोट उत्पादनका लागि ठिक्क छन्।”

    उन्सु जातका सुन्तलाका दाना ठूल्ठूला र निकै स्वादिला हुने उले बताए। “बेमौसममा फलेका कारण स्याउको मूल्यमा बिक्री हुन्छ”, कृषक अर्यालले भने, “अहिले घरमा आउने पाहुनालाई खुवाउने र कोसेलीका रुपमा दिने गरेका छौं।” उनले उन्सु जातका सुन्तलाले एक/दुई वर्षमै स्याङ्जामा राम्रो उत्पादन दिने बताए।

    “कीर्तिपुरस्थित राष्ट्रिय सुन्तला अनुसन्धान केन्द्रबाट दुई उन्सु जातका बेर्ना ल्याएर लगाएको थिए”, उनले भने, “सुन्तला हुर्केपछि कलमी गरेर एक सय बोट उत्पादन दिने खालका सुन्तला बनाएको छु, नर्सरीमा किन्न चाहनेका लागि थुप्रै कलमी बिरुवा तयार गरेको छु।” अर्यालले २०४९ सालमा १० बोटबाट सुन्तलाको व्यावसायिक खेती सुरु गरेका थिए।

    “तत्कालीन समयमा गाउँमा ओमबहादुर केसी नाम गरेका ज्येष्ठ बुवा हुनुहुन्थ्यो”, उहाँले गाउँभरिका सबैलाई सुन्तला रोप्नुपर्छ भनेर निःशुल्क बिरुवा दिनुहुन्थ्यो”, उनले पुराना दिन सम्झिए, “उहाँकै प्रेरणा र हौसलाका कारण सुन्तला खेतीमा लागेको छु।” अर्यालको फार्मका उत्पादन वस्तु विगत १६ वर्षदेखि जापान निर्यात हुँदै आएका छन्।

    उनले विशेष गरेर कफी, सुन्तला, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनार, जामलगायत ३५ भन्दा धेरै सामग्री जापान पठाउँदै आएको बताए। उनले पुतलीबजार-१२ पेल्काचौरमा ३० देखि ४० हजार कलमी सुन्तलाका बिरुवा उत्पादन गर्ने उद्देश्यसहित उच्च प्रविधिको नर्सरीसमेत बनाएका छन्। उनले उत्पादन गरेको सुन्तला काठमाडौं, बुटवल, भैरहवालगायतका स्थानमा निर्यात हुने गरेको छ।

    कृषि क्षेत्रमा तीनै तहका सरकारको राम्रो सहयोग पाएको उनको भनाइ छ। अर्यालकी श्रीमती उमाले श्रीमान्को कृषि कर्मले सामाजिक प्रतिष्ठा निर्माण भएको बताइन्। छोरा उभित उनको कामलाई सघाउनसक्ने भएका छन्।

    छोरी अनुषा पोखरामा अध्यनरत रहेको सुनाउँदै उभितले फार्म व्यवस्थापनको भूमिका राम्रोसँग निभाउन थालेको अर्यालले बताइन्। स्याङ्जामा सुन्तला खेतीको सम्भावना राम्रो भएकाले अध्ययन र अनुसन्धान गरेर लाग्न नयाँ आउन चाहने कृषकलाई उनको सुझाव छ। अर्यालले एक सय बढी कृषिसम्बन्धी तालिम लिएका छन्।

    उनले हाल सुन्तला र कफीसम्बन्धी जिल्ला बाहिर र जिल्लाभित्र प्रशिक्षकका रुपमा तालिमसमेत दिँदै आइरहेका छन्। उनको फार्ममा अहिले पाँच जनाले रोजगारी पाएका छन् भने सुन्तलाको याममा २० जनासम्मले रोजगारी पाउने गरेका छन्।

    कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले जिल्लामा पुतलीबजार, अर्जुनचौपारी र वालिङ नगरपालिकामा उन्सु जातको सुन्तलाखेती व्यावसायिकरुपमा गर्न थालिएको बताए। उनले स्याङ्जामा २२ सय हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको जानकारी दिए।

    “यहाँ वार्षिक रु १० लाखभन्दा धेरै आम्दानी गर्ने व्यावसायिक कृषक पाँच सयभन्दा धेरै छन्, सहकारी, समूहलगायत रु १० लाखभन्दा कम आम्दानी गर्ने कृषक हजारौंको सङ्ख्यामा छन्”, प्रमुख हमालले भने, “यहाँ सुन्तला खेतीका लागि उपयुक्त माटो र हावापानी राम्रो भएकाले किसान सुन्तला खेतीप्रति आकर्षित भएका हुन्।”

    उनले सुन्तला ग्रेडिङ गर्ने मेसिन स्याङ्जामा मात्र रहेको जानकारी दिए। उनका अनुसार कृषि ज्ञान केन्द्रले सुन्तलाखेती विस्तारका लागि बगैंचा व्यवस्थापन, रोग किरा व्यवस्थापन, निःशुल्क बिरुवा वितरण, बारबन्देजलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ