Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा : प्रधानमन्त्री


ग्लोबल पाना
बिहीबार , जेठ १० २०८१
  • 249
    SHARES

  • images
    बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा : प्रधानमन्त्री

    ललितपुर, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमअनुरूप आगामी वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताउनुभएको छ ।

    images
    images
    images

    कोन्ज्योसोम गाउँपालिकाद्वारा आज आयोजित त्रिमूर्ति प्रतिमा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सरकारको नीति तथा कार्यक्रम र बजेटबाट कृषि क्षेत्रले पर्याप्त लाभ लिनसक्ने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएर नीतिगत व्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।

    सरकारले अघिल्लो महिनामात्रै तेस्रो लगानी सम्मेलन उत्साहजनक रूपमा सम्पन्न गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त सम्मेलनमा ठोट्ने खोलाको पानी प्रयोग गरी उपत्यकाबासीको पानीको समस्या समाधान गर्न विदेशी लगानीकर्ताका लागि परियोजनाको प्रारूप प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

    “मेरो विश्वास छ– उक्त प्रस्तावअनुरूप यस आयोजनाका निम्ति विदेशी लगानी जुट्नेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यसबाट पानीको बहुउपयोग हुने किसिमका बृहत आयोजना सञ्चालन गर्न सम्भव हुनेछ ।” कोन्ज्योसोम गाउँपालिकाका केही वडाहरूलाई नयाँ शहरको रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका निम्ति आगामी दिनमा सम्भाव्यता अध्ययन हुँदै जाने बताउनुभयो ।

    उहाँले यस क्षेत्रका लेले–चन्दनपुर, नल्लु–चौघरे–उन्युचौर–मानिखेल–गोटिखेल र बिर्खेधारा–दलचोकी–शङ्खु–इकुडोल गरी ३ वटा सडक दक्षिण ललितपुरको ‘लाइफ लाइन’का रूपमा विकास हुने क्रममा रहेको र यसले ललितपुरको दक्षिणी क्षेत्रको विकासमा गुणात्मक फड्को हान्ने विश्वास व्यक्त गर्नुभयो ।

    काठमाडौँ उपत्यकाबाट नजिकको दुरीमा प्राकृतिक मनोरम दृश्यावलोकन गर्न सकिने स्थान कोञ्जोसोम भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ग्रामीण अर्थतन्त्र र पर्यटन प्रवर्द्धन गरेर आयआर्जन गर्न सकिने बताउनुभयो । उहाँले यस क्षेत्रमा पर्यटकहरूको बसाइ लम्बाएर विदेशी मुद्रा आर्जनका निम्तिसमेत राजधानी नजिकका यस्ता पर्यटकीय गन्तव्यहरूको विशिष्ट भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।

    यो क्षेत्र कृषि, तरकारी खेती, पशुपालन, दूध र मासु उत्पादनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, विविधिकरण र बजारीकरणका माध्यमबाट यस क्षेत्रका जनताले पर्याप्त लाभ लिन सक्ने बताउनुभयो ।

    ललितपुर जिल्लाभित्र पर्ने अत्यन्त महत्त्वपूर्ण र मनोरम गाउँपालिकाका रूपमा स्थापित कोन्ज्योसोमले कृषि र पर्यटनमार्फत् ग्रामीण अर्थतन्त्रको सवलीकरण एवं विकासमा रचनात्मक भूमिका खेल्दै आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले अर्गानिक कृषि उत्पादन, पर्यटकीय सम्भावनाहरूको खोजी एवं गाउँपालिकाभित्र विद्यमान सबै साधनस्रोतहरूको अधिकतम उपयोगका निम्ति विभिन्न नीति, योजना र कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

    “करिब ७८ प्रतिशत तामाङ समुदायको बसोबास रहेको यस कोन्ज्योसोम गाउँपालिकाको नामाकरण स्थानीय पहिचान झल्किने गरी तामाङ भाषामा गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यसबाट यस गाउँपालिकाभित्रका विविधतायुक्त संस्कृतिको प्रवर्द्धन हुनुका साथै प्राकृतिक एवं सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नसमेत महत्त्वपूर्ण योगदान पुग्दै आएको छ ।”

    प्रधानमन्त्री प्रचण्डले स्थानीय भाषा, कला र संस्कृतिको प्रवर्द्धन गरी उत्पीडित वर्ग, जाति र समुदायको पहिचान र आत्मस्वाभिमान स्थापित गर्नुका साथै यस्ता रचनात्मक क्रियाकलापले पर्यटन प्रवर्द्धनमा समेत गुणात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

    कोन्ज्योसोम प्रतिमा निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तीनै तहको भूमिका र योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तीनै तहका सरकारहरूको संयुक्त लागत साझेदारीमा निर्माण गरिएको त्रिमूर्तिले यस क्षेत्रको ऐतिहासिकताको समेत प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ