काठमाडौँ । स्वर्गीय लेखक एवं पत्रकार पदम श्रेष्ठको व्यक्तित्व, कृतित्व, सङ्घर्ष र समाजमा पुत्याएको योगदानको अभिलेखीकरण गर्दै प्रकाशित स्वा· पदम श्रेष्ठ स्मृतिग्रन्थ उहाँको जन्म जयन्तीको अवसर पारेर असोज २५ गते घटस्थापनाका दिन काठमाडौँमा सार्वजनिक गरिएको छ । स्वार्गिय पदम श्रेष्ठ स्मृति ग्रन्थ प्रकाशन समूहद्वारा आयोजित स्मृति ग्रन्थ सार्वजनिककरण कार्यक्रम आइतबार काठमाडौँको टेकुस्थित पचली भैरवमा रहेको नेपाली लोकबाजा सङ्ग्रहालयमा आयोजना गरिएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता ८४ वर्षीय ज्येष्ठ पत्रकार प्रेमनाथ जोशीले गर्नुभएको थियो । कार्यक्रममा नेपाली लोकबाजा सङ्ग्रहालयका संस्थापक रामप्रसाद कँडेलले स्वागत मन्तव्य राख्दै पत्रकारिता तथा लेख मार्फत संस्कृतिको जगेर्ना गर्नका लागि उहाँले पुर्याउनु भएको योगदानको प्रशंसा गर्दै यस क्षेत्रमा उहाँले पुर्याउनु भएको योगदान अतुलनीय रहेको कुरामा जोड दिनु भएको थियो ।
यसै क्रममा अतिथिहरू तथा स्वर्गीय पदम श्रेष्ठका परिवारका सदस्यहरूको उपस्थितिमा स्मृतिग्रन्थको लोकार्पण गरियो। स्मृतिग्रन्थ सार्वजनिक कार्यक्रममा पत्रकार एवं घोस्ट राइडर नेपालका संस्थापक कमल ढकालले पुस्तकमा समेटिएको विषयवस्तु, स्वा· पदम श्रेष्ठको व्यक्तित्व तथा उहाँले समाजमा पुर्याउनु भएको योगदानको विषयमा मन्तव्य राख्नुभएको थियो। त्यसै गरी पत्रकार कुमार रञ्जित, स्वा· पदम श्रेष्ठकी धर्मपत्नी शिवा तामाङ, सम्पादक मध्येका शम्भु श्रेष्ठ तथा रसिला तामाङले पनि उहाँले पुर्याउनु भएको योगदानको स्मरण गर्दै मन्तव्य राख्नुभएको थियो ।
यसै क्रममा सूचक प्रकाशनका दीपक भेट्वालले धन्यवाद ज्ञापन गर्नु भयो भने कार्यक्रमका सभापति प्रेमनाथ जोशीले समापन मन्तव्य राख्नुभयो । स्वा· पदम श्रेष्ठ स्मृतिग्रन्थमा उहाँको जीवनयात्रा, व्यक्तित्व, सामाजिक सम्बन्ध, सङ्घर्ष र योगदानलाई समेटेर तयार पारिएको छ भने स्मृतिग्रन्थमा उहाँलाई नजिकबाट चिन्ने व्यक्तिहरूका लेख, संस्मरण तथा श्रदाञ्जली समेटिएका छन्। साथै उहाँको जीवनका विभिन्न पक्षलाई अभिलेखीकरण गर्दै समाजमा पुर्याएको योगदानको मूल्याङ्कन गर्ने प्रयास गरिएको छ ।
स्मृतिग्रन्थले उहाँसँग जोडिएका अनुभव, सम्झना र सिर्जनात्मक योगदानलाई भावी पुस्तासम्म पुर्याउने अपेक्षा राखिएको आयोजकले जनाएको छ । कार्यक्रममा स्मृति ग्रन्थ प्रकाशनका लागि सहयोग पुर्याउनुहुने पाथीभरा प्रतिकृति मन्दिरका कोषाध्यक्ष पूजन बस्नेत, बेखराम बलामौ, भगवती तिमल्सिना, कमल ढकाल, विजय महर्जन लगायत सहयोगी तथा शुभेच्छुकहरू प्रति प्रकाशन समूहले आभार व्यक्त गरेको थियो । व्यक्तिको योगदान र सम्झनालाई अभिलेखमा सुरक्षित राख्ने उद्देश्य सहित आयोजना गरिएको यस कार्यक्रमले स्वा· पदम श्रेष्ठप्रति श्रदाञ्जली अर्पण गर्नुका साथै उहाँको जीवन र योगदानबारे नयाँ पुस्तालाई परिचित गराउने विश्वास लिइएको छ।
कार्यक्रममा स्वर्गीय लेखक एवं पत्रकार पदम श्रेष्ठकी ममतामयी माता सीतादेवी श्रेष्ठ, धर्मपत्नी शिवा तामाङ, छोरी उपमा श्रेष्ठ, छोरा श्रेताबन्धु श्रेष्ठ लगायत परिवारका सदस्य, पत्रकार, साहित्यकार, सामाजिक व्यक्तित्व तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाकी अध्यक्ष भगवती तिमल्सिनाले गर्नु भएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


