Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

महिलाहरुको आर्थिक पहुँच बृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण : अध्ययन


ग्लोबल पाना
मंगलबार, असार ११ २०८१
  • 227
    SHARES

  • images
    महिलाहरुको आर्थिक पहुँच बृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण : अध्ययन

    काठमाडौं । महिलाहरुको आर्थिक पहुँच बृद्धिका लागि सहकारी संस्थाहरुले महत्वपूर्ण भूमिका खेलेको पाइएको छ । नारी चेतना केन्द्र नेपालले वित्तिय तथा उद्यमशिलता विकासमा महिलाको पहुँचबारे गरेको अध्ययनले यस्तो तथ्य उजागर गरेको हो ।  नेपालमा महिलाहरुको उद्यमशीलता विकासमा वित्तको भूमिकाको मापन गर्ने र सहकारीहरूले महिला उद्यमीहरूलाई प्रदान गर्ने व्यापार ऋणको पहुँच र प्रभाव बारे बुझ्ने उदेश्यले यो अध्ययन गरिएको केन्द्रकी अध्यक्ष सिर्जना पौडेलले बताइन । केन्द्रले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि अध्ययनको उपलब्धि सार्वजनिक गरेको छ । द एस्पेन इन्टिच्यूटको आर्थिक सहयोगमा गरिएको उक्त अध्ययनमा काठमाण्डौको बुढानिलकण्ठ र काभ्रपलाञ्चोकका विभिन्न १० वटा सहकारी संस्थालाई समेटिएको थियो । 

    images
    images
    images

    केन्द्रकी अध्यक्ष पौडेलले सहकारी संस्थाले साना ब्यवसायी महिलाहरुलाई वित्तिय कारोबारका लागि सहज पहुँच दिएको बताइन । उनले भनिन्, अध्ययनका क्रममा सहभागि महिलाहरु मध्ये ९१ प्रतिशत महिलाहरुले सहकारीबाट ऋण लिएर विभिन्न उद्यम गरेको पायौं, करिब १३ प्रतिशत महिलाहरुले मात्रै बैंकिङ क्षेत्रबाट वित्तिय सेवा लिएको पाइयो । ब्याजको दर केही बढि भएपनि वित्तिय सेवा लिन सहज भएका कारण सहकारीसंस्थाहरु महिलाहरुको आकर्षण पाइयो उनले भनिन् ।  

    हाम्रो सर्वेक्षणमा ९५ प्रतिशत भन्दा बढी उत्तरदाताहरूले सहकारीहरूले महिला उद्यमीहरूका लागि धेरै सहयोगी भएको र उनीहरूको व्यवसायको वृद्धिमा योगदान पुर्‍याएको बताएको पायौं, केन्द्रकी अध्यक्ष पौडेलले भनिन् । 

    अध्ययनका क्रममा ९४ प्रतिशत उत्तरदाताहरूले आफ्नो व्यवसायको अस्तित्व र बृद्धिको लागि ऋणमा पहुँच आवश्यक भएको प्रतिक्रिया दिएका थिए । ५९ प्रतिशत उत्तरदाताहरूले विगत ५ वर्षमा बाह्य वित्त खोज्ने प्रक्रिया सुरु गरेका थिए । जसमध्ये ७९ प्रतिशतले सहकारीमा ऋणका लागि आवेदन दिएको पाइएको थियो ।  

    अध्ययनमा सहकारीले लघु उद्योग सञ्चालन गर्ने महिला उद्यमीहरूको लागि ऋणको मुख्य स्रोतको रूपमा काम गरेको पाइएको छ । सहकारीले सजिलो र द्रुत ऋण प्रवाह गर्ने कारणले ऋणीका लागी सहजता भएको पाइएको थियो । जसले गर्दा सीप विकास मार्फत महिला उद्यमशीलता प्रवर्द्धनमा सक्रिय रूपमा संलग्न भएको र यसले महिला सशक्तिकरण, रोजगारी सृजना र आर्थिक स्वाधीनतातर्फ अग्रसर गराउने कार्य गरेको अध्ययनले निष्कर्ष निकालेको छ ।

    कार्यक्रममा बोल्दै कासकुनका अध्यक्ष दिपक पनेरुले वर्तमानमा सहकारी प्रति अविश्वास बढिरहेको सन्र्दभमा केन्द्रले सार्वजनिक गरेको उपलब्धिले सहकारीको क्षेत्रलाई थप सशक्त बनाएर अगाडी बढ्न हौसला मिलेको बताए । उनले भने, अहिले केही सहकारीमा समस्या होला तर महिलाले नेतृत्व गरेको सहकारीमा त्यस्तो धेरै समस्या छैन । अधिकांश महिलाहरु उद्यमशिलतामा जोडिएकाले उनीहरुले गर्ने कारोबार राम्रो रहेको पनेरुको भनाई थियो । 

    जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष सुमन केसीले महिलाहरुको आर्थिक र सामाजिक रुपान्तरणका लागि सहकारी संस्थाहरुको भूमिका निकै महत्वपूर्ण रहेको बताए । 

    बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धब सापकोटाले नेपालको लघुउद्यमशिलतामा सहकारी मोडल निकै राम्रो रहेको बताए । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीको क्षेत्र र यसको प्रभावलाई बढाउने काममा नारी चेतना केन्द्र जस्ता संस्थाको भूमिका निकै महत्वपूणर् रहेको बताउँदै सहकारीमा विद्यमान दोहोरो सदस्यता, तरलता व्यवस्थापन, बचत सुरक्षण कोष लगायतका विषयलाई कानुनको परिधिमा रहेर निराकरण गर्नुपर्ने बताए । 

    राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले महिलाहरुले नेतृत्व गरेको सहकारी संस्थाले पारदर्शिता र नैतिकता देखाउने गरेको बताउँदै सहकारीको संख्या भन्दा पनि गुणात्मक सेवामा जोड दिनु पर्ने बताइन् । उनले महिलालाई आर्थिक रुपमा सक्षम र सवल बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताइन ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ