Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

महासंघ अध्यक्ष ढकालद्वारा नेपालमा थप लगानीका लागि ओपेक फण्डलाई आग्रह


ग्लोबल पाना
बुधबार, असार १२ २०८१
  • 322
    SHARES

  • images
    महासंघ अध्यक्ष ढकालद्वारा नेपालमा थप लगानीका लागि ओपेक फण्डलाई आग्रह

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि ओपेक फण्डलाई आग्रह गर्नुभएको छ । अष्ट्रियाको भिएनामा मंगलबार ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र उपाध्यक्ष तारेक अलनासरसँगको भेटका अवसरमा अध्यक्ष ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै ओपेक फण्डका लागि नेपाल नयाँ र ठूलो लगानीको गन्तब्य बन्न सक्ने बताउनुभयो ।

    images
    images
    images

    अध्यक्ष ढकालले विश्वका उदाउँदा ठुला अर्थतन्त्र, चीन र भारतको बिचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने बताउँनुभएको छ । उहाँले नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्नुभयो ।

    ढकालले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरुमा लगानीको ठूलो सम्भावना रहेको बताउँनुभयो । नेपाल सरकार र भारत सरकारबिच सम्पन्न दीर्घकालिन विद्युत व्यापार सम्झौताको स्मरण गर्दै ढकालले यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहूच पुर्‍याउने हुँदा जलविद्युत तथा नवीकरणीय ऊर्जामा लगानीको अवसर रहेको बताउनुभयो ।

    त्यसैगरी उहाँले अर्को छिमेकी मुलुक बंगलादेशसँगको विद्युत् व्यापार सम्झौता अन्तिम चरणमा रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको साँस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, युवा तथा ऊर्जाशिल जनशक्तिको पनि उचित लाभ लिन नेपालमा पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्न सकिने बताउनुभयो ।

    नेपाल सरकारले हालै लगानीका लागि बाधक ठानिएका केही पुराना कानूनहरु संशोधन गरेको सन्दर्भ उल्लेख गर्दै महासंघसँगको सहकार्यमा नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध रहेको समेत उहाँले उल्लेख गर्नुभयो । त्यसैगरी, महासंघको पहलमा दुई पक्षीय लगानी (बीआईए) फ्रेमवर्क तयार भई मन्त्रीपरिषद्बाट पारित समेत भइसकेको छ । यसले पनि वैदेशिक लगानीको सुरक्षा र लगानीको वातावरण निर्माणमा सहयोग पुग्नेछ, उहाँले भन्नुभयो ।

    मलुकमा लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासंघले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले महासंघले केही समय पहिले भारतको नयाँ दिल्ली, चीनको बेइजिङ र युएईको दुवईमा विजनेस समिटको आयोजना गरेको बताउनुभयो । उहाँले महासंघ नेपालमा कुनै पनि लगानीकर्तालाई आवश्यक सहजीकरण गर्न तयार रहेको बताउँदै नेपाली लगानीकर्ताहरु विदेशी लगानीको साथ नेपालमा हुने लगानीमा कुनै पनि क्षेत्रमा साझेदारीका लागि तयार रहेको समेत बताउनुभयो ।

    ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफाले नेपालमा ओपेक फण्डले गरेका लगानीको चर्चा गर्दै नेपालको नवीकरणीय ऊर्जा, जलविद्युत तथा साना तथा मझौला उद्योगको प्रवद्र्धनमा ओपेक फण्डले थप लगानी गर्न तयार रहेको बताउनुभएको छ । त्यसैगरी, उपाध्यक्ष तारेक अलनासरले ओपेक फण्ड नेपालमा लगानी वृद्धि गर्न सकारात्मक रहेको बताउनुभयो ।

    ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर ऋण प्रदान गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले मंगलबार हस्ताक्षर गर्नुभएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ