Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नयाँ सरकारमा उपप्रधानमन्त्री नराख्ने तयारी


ग्लोबल पाना
शनिबार, असार २२ २०८१
  • 368
    SHARES

  • images
    नयाँ सरकारमा उपप्रधानमन्त्री नराख्ने तयारी

    काठमाडौं। नयाँ सत्ता समीकरणका लागि सहमत भएर शक्ति बाँडफाँटको छलफलमा रहेका संसद्का दुई ठूला दलहरू अब बन्ने सरकारमा उपप्रधानमन्त्री नराख्ने सहमतिनजिक पुगेका छन्।

    images
    images
    images

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन सहमति गरिसकेको कांग्रेसले ओलीकै प्रस्तावअनुसार उपप्रधानमन्त्री नराख्न सहमति दिने सम्भावना बढेको कांग्रेस उच्च स्रोतको दाबी छ। एमालेबाट महासचिव शंकर पोखरेल र कांग्रेसबाट मुख्य सचेतक रमेश लेखक शक्ति बाँडफाँट लगायतका छलफलमा खटिएका छन्।

    विगतमा २०७४ को चुनावपछि प्रधानमन्त्री हुँदा पनि ओलीले उपप्रधानमन्त्री राख्न चाहेका थिएनन्। ईश्वर पोखरेल, उपेन्द्र यादव, रामबहादुर थापा लगायतले ओली सरकारमा मन्त्रीकै हैसियतमा काम गरेका थिए। समीकरण सन्तुलित बनाउने नाममा उपप्रधानमन्त्रीहरू थपिनु आफ्नो इच्छाविपरीतको काम हुने ओलीले कांग्रेस सभापति देउवालाई सुझाइसकेका छन्।

    विश्वस्त स्रोत भन्छ-नयाँ सरकारमा एमालेले उपप्रधानमन्त्री राख्दैन, कांग्रेसलाई पनि नराख्न भन्छ।’ कांग्रेसमा आधा दर्जन बढी नेताहरूलाई सम्भावित उपप्रधानमन्त्रीका रूपमा हेरिएको छ। नेता डा.शेखर कोइराला, पूर्व-उपसभापतिद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधि, पूर्व-महामन्त्रीद्वय कृष्ण सिटौला र डा.शशांक कोइराला एवं महामन्त्री गगन थापाको नाम उपप्रधानमन्त्रीका रूपमा चर्चामा छ।

    सभापति देउवा स्वयं उपप्रधानमन्त्री बनाउने पक्षमा छैनन्। ‘सरकारमा उपप्रधानमन्त्री बनाएर पठाएको नेता पार्टीमा सभापतिभन्दा बढी हावी हुन खोजेको देखियो। आफूविरुद्ध शक्ति केन्द्र तयार नगर्ने भन्नेमा सभापति सचेत हुनुहुन्छ’, देउवानिकट एक नेताले भने। विगतमा उपसभापति खड्का, नेताहरू निधि, सिंह र सिटौलाले उपप्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

    ओली सरकारमा उपप्रधानमन्त्री नराख्ने निणर्य भए कांग्रेसबाट नयाँ नेताहरूले मन्त्रिपरिषद्मा अवसर पाउने सम्भावना बढी छ। ‘अहिले नाम सुनिएका नेताहरूमध्ये मन्त्री बन्न तयार हुने कमै मात्रै हुनुहुन्छ। त्यसैले नयाँ नेताहरूले सरकारमा अवसर पाउनुहुन्छ। निणर्य नै भइसकेको हैन तर नयाँ सरकारमा उपप्रधानमन्त्री नरहने चान्स बढी छ’, कांग्रेस नेताको भनाइ छ।

    एमालेभित्र यतिबेला महासचिव पोखरेल प्रभावी देखिएका छन्। नयाँ सत्ता समीकरणमा अध्यक्ष ओलीको विश्वास पात्रको रूपमा खटिएका पोखरेल प्रतिनिधिसभा सदस्य हुन्। एमालेबाट यसअघि विष्णु पौडेल र रघुवीर महासेठ पटक-पटक उपप्रधानमन्त्री भइसकेका छन्। यस्तो पृष्ठभूमिमा अध्यक्ष ओली र महासचिव पोखरेल दुवै उपप्रधानमन्त्री नराख्ने पक्षमा स्पष्ट छन्।

    ‘महासचिवको नेतृत्वमा सरकारमा जाने सम्भावना नरहेकाले एमालेबाट अरू कोही उपप्रधानमन्त्री बन्ने कल्पना तत्काल नगरौं’, एमालेका एक नेताले भने। ती नेताका अनुसार उपप्रधानमन्त्री नराख्ने ओलीको प्रस्तावमा देउवा सहमत भए पनि पार्टीमा छलफल गर्ने समय माग गरेका छन्।

    ‘उपप्रधानमन्त्री नराख्न देउवा पनि सहमत हुनुहुन्छ तर पार्टीमा विवाद नहुने गरी छलफल टुंग्याउन चाहनुहुन्छ’, एमाले नेताको दाबी छ। कांग्रेस एमालेबीच जारी संवादमा केही मन्त्रालयहरूको टुंगो लागिसकेको छ। जसअनुसार गृह कांग्रेसले र अर्थ एमालेले राख्नेछन्। एमालेबाट अर्थमन्त्रीमा योगेश भट्टराई र पदम गिरीको चर्चा छ भने कांग्रेसमा गृहमन्त्रीका रूपमा रमेश लेखकको सम्भावना बढी देखिन्छ। कांग्रेसले प्राप्त गर्ने परराष्ट्रमन्त्रीमा डा. आरजू देउवा राणाको सम्भावना बढी रहेको कांग्रेस नेताहरू बताउँछन्। - Dc

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ