स्याङ्जा । स्याङ्जा जिल्लाको वालिङ १० भकुण्डेमा रहेको नवजागरण संस्थाले गरिमा विकास बैंकका सञ्चालकहरुलाई शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ। नवजागरण पार्कमा आयोजित सम्मान तथा बधाई कार्यक्रममा गरिमा विकास बैंकका अध्यक्ष दिलीपप्रताप खाँण, सञ्चालक सदस्य शोभाकान्त ढकाल र आयुष्मा कोईरालालाई सम्मान पत्र प्रदान गरिएको हो। खाँणलाई गरिमा विकास बैंकको अध्यक्ष पदमा सर्वसम्मत चयन भएको अवसरमा तथा ढकाल र कोईरालालाई संस्थाको शुभेच्छुकका रूपमा योगदानको कदर गर्दै सम्मान गरिएको संस्थाले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खाँणले गरिमा विकास बैंकलाई देशकै अग्रणी विकास बैंक बनाउने लक्ष्यका साथ निरन्तर कार्य गरिरहेको बताउनुभयो। उहाँले भविष्यका योजना र उद्देश्य पूरा गर्न सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो। सोही अवसरमा गण्डकी प्रदेशका पूर्व सांसद एवम् नवजागरण संस्थाका सल्लाहकार भागवतप्रकाश मल्लले वर्तमान सञ्चालक समितिको नेतृत्वले गरिमा बैंकको उचाई अझै माथि पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठलगायत विभिन्न व्यक्तिहरुले शुभकामना व्यक्त गरेका थिए। नवजागरण संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत कविता भुसालले गर्नुभएको थियो भने सञ्चालन हिमलाल पंगेनीले गर्नुभएको थियो।
.gif)




 x 450 (H) Global Pana.jpeg)


