बुटवल । डाउन सिण्ड्रोम समाज नेपालले Australian Aid को सहकार्यमा हिंसा विरुद्ध हाम्रो अभियान, प्रतिकार र प्रतिरक्षा "असल र खराब छुवाई " सम्बन्धी ५ दिने तालिम बुटवलमा सम्पन्न गरेको छ । यही माघ ९ गते देखि १३ गते सम्म अर्थात् सन् २०२५ जनवरी २२ तारिख देखि १६ तारिख सम्म सञ्चालन भएको "असल र खराब छुवाई" सम्बन्धी ५ दिने तालिममा आयोजक संस्था डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले डाउन सिण्ड्रोम अपाङ्गता भएका बालिकाहरू र उनीहरूका अभिभावक तथा शिक्षकहरूले पनि राम्रो र नराम्रो अर्थात् असल र खराब छुवाइको विषयमा जानकारी प्राप्त गरुन्, विभिन्न असुरक्षा तथा हिंसाबाट आफू पनि र अरूलाई पनि सुरक्षित रहन र राख्न सकुन् भन्ने उद्देश्यले यो ५ दिने असल र खराब छुवाई सम्बन्धी तालिम प्रदान गरिएको बताउनु भयो ।
साथै उहाँले अभिभावक तथा शिक्षकहरूले पनि यस तालिममा सिकाइएका विधिहरूलाई उपयोग गर्दै तालिममा सिकेको सीपलाई सदुपयोग गर्नु हुने विश्वास व्यक्त गर्नु भयो भने उहाँले यो प्रतिकार र प्रतिरक्षा, असल र खराब छुवाई सम्बन्धी तालिमले कुनै पनि घटनाहरू घट्न नदिनको लागि पूर्व तयारी गर्न सहयोग गर्ने, तालिममा प्रयोग गरिएको चित्र विधि मार्फत डाउन सिण्ड्रोम अपाङ्गता भएका बालिकाहरूले असल र खराब छुवाई सम्बन्धी, शरीरका अङ्गहरूको पहिचान, ती अङ्गहरूमा कहाँ छुन हुने कहाँ नहुने भन्ने कुराहरू सिक्न सक्ने र यस्ता सिकाइहरूबाट उनीहरू आफैले आफैलाई सुरक्षित राख्न सक्ने कुरामा जोड दिनु भयो ।
उक्त कार्यक्रममा अस्ट्रेलियन राजदूत Leann Johnston लिआन जोनस्टनले असल तथा खराब छुवाई सम्बन्धी तालिम अति नै उपयोगी र महत्त्वपूर्ण रहेको भन्दै सहभागीहरू प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र तथा तालिम समाग्रीहरु प्रदान गर्नु भयो । यसै क्रममा उहाँले डाउन सिण्ड्रोम समाज नेपालले असल र खराब छुवाई सम्बन्धीको तालिमको सुरुवात गर्नु भएकोमा आयोजकलाई र प्रशिक्षार्थीहरूको उत्साहलाई धन्यवाद दिँदै यो तालिम लिने सहभागीहरूलाई तालिममा सिकेका सीप तथा यो अवसरको सही उपयोग गर्न आग्रह गर्दै सबैलाई आगामी दिनको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
तालिममा सहभागी बुटवल उपमहानगरपालिका ११ निवासी डाउन सिण्ड्रोम अपाङ्गता भएकी छोरीकी अभिभावक विमला पौडेलले यस्तो उपयोगी तालिममा पहिलो पटक सहभागी भएको र तालिम अति नै उपयोगी रहेको, यस तालिमबाट छोरीहरूलाई सुरक्षित राख्न सकिने उपायहरू, शरीरका अङ्गहरूको पहिचान, घर भित्र घर बाहिरका व्यक्तिहरूलाई पहिचान गर्न अपनाउनु पर्ने उपायहरूको ज्ञान भएको भन्दै यस तालिममा सिकेका सीपहरूलाई आफ्नो छोरीलाई, घर परिवार तथा समुदायमा पनि सिकाउने बताउनु भयो ।
साथै उहाँले अबका दिनमा स्थानीय निकायहरूबाट पनि यस्ता तालिम सञ्चालनको लागि पहल गर्ने भन्दै आयोजकलाई धन्यवाद व्यक्त गर्नु भयो । यसै क्रममा बुटवल उपमहानगरपालिकामा रहेको बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षा प्रदान गरिने विद्यालय सुस्तमनःस्थिति बाल विद्या मन्दिरका सहभागी शिक्षिका मञ्जु न्यौपानेले पहिलो पटक लिएको यस तालिमबाट बौद्धिक तथा डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरूलाई असल छुवाई, खराब छुवाइका विषयमा, आफ्नो परिवार तथा समाजका व्यक्तिहरूसँग कसरी चिनाउने लगायतका धेरै उपयोगी सीपहरू सिक्न पाएको बताउनु भयो ।
साथै उहाँले यस ५ दिने तालिममा सिकेको सीपलाई आफ्नो समुदाय र विशेष गरी आफूले अध्ययन गराइरहेको सुस्तमनःस्थिति बाल विद्या मन्दिरका बौद्धिक अपाङ्गता भएका बालबालिकाहरू तथा डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरू र उनीहरूका अभिभावकहरूलाई सिकाउने बताउनु भयो ।
उक्त ५ दिने तालिमका क्रममा डाउन सिण्ड्रोम अपाङ्गताको विषयमा जानकारी, असर र खराब छुवाइको चिनारी, शरीरका अङ्गहरूको पहिचान, यसै विषयमा डाउन सिण्ड्रोम अपाङ्गता भएका बालिकाहरूलाई प्रयोगात्मक अभ्यास, चित्रद्वारा अङ्गहरूको पहिचान गराइएको थियो ।साथै खराब छुवाई र असल छुवाई, रंगहरुद्वारा सुरक्षित घेरा, हिंसाको बारेमा जानकारी र ती हिंसाबाट सुरक्षित रहने तरिका, परिवार, समुदाय, सावधानीका उपायहरू, महिलाको यौवन अवस्था लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । साथै तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई असर छुवाई र खराब छुवाइका विषयमा नाटक प्रदर्शन गरेर पनि असर र खराब छुवाइको विषयमा जानकारी प्रदान गरियो ।
हिंसा विरुद्ध हाम्रो अभियान, प्रतिकार र प्रतिरक्षा "असल र खराब छुवाई " सम्बन्धी ५ दिने तालिममा बुटवल उपमहानगरपालिकामा रहेको बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षा प्रदान गरिने विद्यालय सुस्तमनःस्थिति बाल विद्या मन्दिरका ६ जना डाउन सिण्ड्रोम अपाङ्गता भएका विद्यार्थी बालिकाहरू, ६ जना अभिभावक र सोही विद्यालयका २ जना शिक्षिका गरी १४ जनालाई "असल र खराब छुवाई " सम्बन्धी ५ दिने तालिम प्रदान गरिएको हो ।
डाउन सिण्ड्रोम समाज नेपालले Australian Aid को सहकार्यमा हिंसा विरुद्ध हाम्रो अभियान, प्रतिकार र प्रतिरक्षा "असल र खराब छुवाई" सम्बन्धी बुटवलमा सञ्चालन गरेको उक्त ५ दिने तालिममा आयोजक संस्था डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापा, विशेष शिक्षिका उमा ढुङ्गाना, महालक्ष्मी श्रेष्ठ र अनिता भट्टराई ले प्रशिक्षण दिनु भएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


