काठमाडौं, २२ फागुन । प्रतिनिधि सभाको आजको बैठकमा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा सांसद अब्दुल खानले बर्दिया जिल्लाका विभिन्न समस्याहरूबारे आवाज उठाएका छन्। उनले स्वास्थ्य, यातायात, तथा कृषि क्षेत्रमा बर्दियाबासीले भोग्दै आएका गम्भीर समस्याबारे सरकारको ध्यानाकर्षण गराए। स्वास्थ्य क्षेत्रमा चरम बेवास्ता सांसद खानका अनुसार बर्दिया जिल्लामा स्वास्थ्य सुविधाको अभाव छ, जसका कारण गम्भीर बिरामीहरूलाई बाँके जिल्लामा जान बाध्य पारिएको छ।
“बर्दियामा सबै स्वास्थ्य उपकरणहरू उपलब्ध भए पनि ICU सञ्चालनमा नराखिनु, अक्सिजन प्लान्ट हुँदाहुँदै पनि अक्सिजनको उचित आपूर्ति नहुनु अत्यन्त दुःखद छ। साथै, भेरी अस्पतालमा पनि ICU बेड अभाव हुँदा बर्दियाबासीहरूलाई ठूलो समस्याको सामना गर्नुपरेको छ,” सांसद खानले भने। उनले बर्दिया जिल्ला अस्पताल प्रदेश सरकारको मातहतमा परेकाले यस विषयमा संघ र प्रदेश सरकारले तुरुन्त कदम चाल्नुपर्ने माग गरे ।
बर्दियामा ६० हजारभन्दा बढी सवारी साधन दर्ता भए पनि यातायात कार्यालयको अभाव रहेको भन्दै सांसद खानले सरकारको ध्यानाकर्षण गराए। “सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन, नवीकरण गर्न वा नामसारीका लागि बर्दियाका नागरिकहरूलाई बाँके जानुपर्ने बाध्यता छ। यो समस्या समाधानका लागि बर्दियामै यातायात कार्यालयको व्यवस्था गर्न सरकारलाई आग्रह गर्दछु,” उनले भने। कृषिमा संकट, मलको चरम अभाव सांसद खानले बर्दियाका किसानहरूले मल अभावका कारण ठूलो समस्या झेल्नुपरेको बताए। “किसानहरूले समयमै मल पाउन सकेका छैनन्। यदि पाए पनि एक बोरा युरिया मलका लागि २,००० देखि २,५०० रुपैयाँसम्म तिर्न बाध्य छन्।
पाँच हजार रुपैयाँमा मल किन्ने किसानले उत्पादन गरेको धान २,५०० रुपैयाँमा बेच्नुपर्दा ठूलो घाटा व्यहोर्नु परेको छ,” उनले भने। उनले मल किन्ने र वितरण गर्ने अधिकार प्रदेश सरकारलाई दिनुपर्ने तथा सरकारले धानको समर्थन मूल्य पाँच हजार रुपैयाँ प्रति क्विन्टल तोक्नुपर्ने माग गरे । कृषि आत्मनिर्भरता र सहुलियत ऋणको माग सांसद खानले नेपाल सरकारले वार्षिक आठ अर्ब रुपैयाँ बराबरको चामल आयात गर्ने तर मल किन्न नसक्ने अवस्थाप्रति प्रश्न उठाए ।
“यदि उत्पादन वृद्धिको लक्ष्य राखेर आयात प्रतिस्थापन गर्न चाहन्छौं भने, सरकारले किसानका लागि सहुलियत ऋणको व्यवस्था गर्नुपर्छ। यसैबाट समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न सकिन्छ,” उनले जोड दिए। सांसद खानले बर्दियाका नागरिकहरूको स्वास्थ्य, यातायात, तथा कृषि समस्याहरूको तत्काल समाधानका लागि संघीय र प्रदेश सरकारलाई आवश्यक पहल गर्न आग्रह गरेका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


