Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै


ग्लोबल पाना
बिहीबार , फागुन २९ २०८१
  • 503
    SHARES

  • images
    सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

    काठमाडौं। आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ। यसरी होली पर्व मनाउनेले अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ। केही वर्षअघिसम्म होलीका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो। जबरजस्त अबिरलगायत रङ दलेर मानिस नचिनिने गरी रङ्ग्यान्थ्यो। रङ र पानी मिलाएर घोलिएको रासायनिक पदार्थलाई बटुवालाई समस्या पारिन्थ्यो। विगत केही वर्ष अघिदेखि सांस्कृतिक शहर काठमाडौँमा फागु पूर्णिमा अर्थात् होली पर्व अनुशासित भइरहेको देखिन थालेको छ।

    images
    images
    images

    फागु पर्व नमनाएका मानिस सडकमा हिँड्दा पनि कसैले पानी र रङ लगाइदिएको छैन। सामान्यतया यो वर्ष कसैले पनि अन्यको इच्छा विपरीत फागु पूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन। मानिस आफू आफूमै रमाए। घरपरिवार एवं छरछिमकीसँग फागु खेले। टीका लगाइदिए। खुसी साटासाट गरे। आपसी सौहार्दता बढाए। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्त रूपमा मनाउन थालिएको छ। केही वर्षअघिसम्म फागु पूर्णिमा (होली)मा मानिसको इच्छाविपरीत रङ दल्ने पानीका लोला हान्ने गरिन्थ्यो।

    केही वर्षअघिदेखि त्यस्तो काम रोकिएको छ। सडकमा फागु खेल्ने प्रायःबालबालिका थिए। बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन्। गाडी ‘रिजर्भ’ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगण्य छ। जोरपाटी चोकमा फागु पर्व मनाइरहेका युवा मङ्गलबहादुर तामाङ चिनजानका साथीभाईबीच मात्र पर्व मनाउने सडकमा सवारी र पैदल यात्रा गर्नेलाई केही नगर्ने बताउँछन्। विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो। यस वर्ष फागु पर्वकै दिन पनि सहज रूपमा हिँडडुल गर्न सकेको सडकमा भेटिएका धेरैले बताए। कतै अपवादका रूपमा जबर्जस्ती रङ लगाएपनि फोहर पानीले दुर्व्यवहार गरेको देखिएन।

    फुर्सद भएकाले सडकमा पर्व मनाएपनि जरुरी काम परेर बाहिर निस्कनुपर्नेलाई इच्छा विपरीत रङ दलिदिँदा केही वर्ष अघिसम्म धेरै तनावपूर्ण वातावरण बन्ने गरेको थियो। चीरोत्थान गरिएको वसन्तपुरमा विशेष चहलपहल यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले विशेष रूमपा होली अर्थात् फागु पूर्णिमा पर्व मनाउन थालेका छन्। बिहानैदेखि विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोकास्थित वसन्तपुर दरबार क्षेत्रमा मानिसको चहलपहल बढेको छ। वसन्तपुर दरबार क्षेत्रमा जम्मा भएकाहरुले पनि चिनजानका मानिसलाई मात्र रङ दल्ने र पानीका लोला हान्ने गरेको देखिन्छ ।

    वसन्तपुर दरबार क्षेत्रमा आज दिनभर फागु पूर्णिमा उत्सव मनाइन्छ। वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई बेलुकी विधिपूर्वक ढाली बाजागाजाका साथ टुडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । यसका लागि बेलुकीसम्म नै वसन्तपुर दरबार क्षेत्रमा मानिसको भीड लाग्छ। फागुन शुक्ल अष्टमीका दिन फागुन २३ गते वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिङ्गारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु भएको थियो। वसन्तपुरमा चीर गाडेपछि होली सुरु भएको मान्ने गरिन्छ ।

    यसैले केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि अरूलाई दुःख दिने नियतले रङ र लोला हानिन्थ्यो। यो क्रम अहिले वसन्तपुर दरबार क्षेत्रमा पनि रोकिएको काठमाडौँ महानगरपालिका वडा नं २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले जानकारी दिए। फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ। त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ।

    त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ। यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन्। निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन्। राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ।

    बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ। फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ। यस अवसरमा आज हिमाली र पहाडी क्षेत्रका ५६ जिल्लामा सरकारले बिदा दिएको छ। शुक्रबार तराइ क्षेत्रका २१ जिल्लामा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ। यसरी फागु पूर्णिमा पर्व देशभर मनाउने गरिन्छ। यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनसमेतमा लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ।

    प्रत्येक वर्ष पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमा र तराइका जिल्लामा फागुन कृष्ण प्रतिपदाका दिन फागु पर्व मनाउने गरिन्छ। रासस

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ