जनकपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन अन्तर्गत ’भाव सम्प्रेषण तथा प्रशंसा अभियान’ को उद्घाटन मधेश प्रदेशको जनकपुरमा सम्पन्न भएको छ । कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान राजनीतिक अवस्था, लोकतन्त्रको रक्षा, र आर्थिक क्रान्तिको अपरिहार्यता बारे स्पष्ट धारणा व्यक्त गरे ।
डा. भट्टराईले राजतन्त्र पुनःस्थापनाको चर्चा निरर्थक रहेको बताउँदै भने, “राजतन्त्र भूत हो— भूत भ्रम हो । यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्, जसको वास्तविक संसारसँग न सम्बन्ध छ, न सम्भावना ।“ डा. भट्टराईले विगतको शासकीय व्यवस्थालाई इंगित गर्दै भने, “आजभन्दा तीन गुणा बढी भ्रष्टाचार राजाहरू र राणाहरूको पालामा हुन्थ्यो । तर उनीहरू त्यति कुटिल थिए कि तिनका गलत कामहरू जनतासम्म पुग्नै दिँदैनथे । त्यसैले जनतालाई शिक्षाबाट बञ्चित गरियो ।“ उनले अहिलेको शिक्षित पुस्ताले विगतको अन्याय सहन नसक्ने भन्दै जनताले लोकतान्त्रिक उपलब्धिहरूको रक्षा गर्नुपर्नेसमेत जोड दिए ।
उनले पुराना दलहरूले देशलाई अब नयाँ उपलब्धि दिन नसक्ने बताउँदै आर्थिक क्रान्ति, वैज्ञानिक तथा प्राविधिक शिक्षा, र रोजगारी सिर्जना प्राथमिकताको विषय बन्नुपर्ने धारणा राखे । “गाडी लिएर समुद्र किनारसम्म पुग्न सकिन्छ, तर समुद्र पार गर्न जहाज नै चाहिन्छ ।“ भन्दै उनले पुराना शक्ति होइन, नयाँ वैकल्पिक नेतृत्व आवश्यक रहेको बताए । कार्यक्रममा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रीय, प्रदेश, तथा स्थानीय तहका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


