Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

देशलाई ताजको होइन, स्थिरताको आवश्यकता छ: डा. बाबुराम भट्टराई


ग्लोबल पाना
सोमबार, चैत ११ २०८१
  • 317
    SHARES

  • images
    देशलाई ताजको होइन, स्थिरताको आवश्यकता छ: डा. बाबुराम भट्टराई

    पोखरा । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) गण्डकी प्रदेशद्वारा आयोजित प्रथम महाधिवेशनको भाव सम्प्रेषण तथा प्रशंसा अभियान उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ ।

    images
    images
    images

    महाधिवेशनको उद्घाटन तथा भाव सम्प्रेषण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको स्थायित्वका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको प्रणाली नै प्रमुख संवाहक हुने धारणा राखेका छन् ।

    डा. भट्टराईले वर्तमान राजनीतिक अस्थिरताको अन्त्य गर्न र देशलाई स्थायित्वतर्फ लैजान कार्यकारी राष्ट्रपतिको व्यवस्था आवश्यक भएको उल्लेख गरे । “देशलाई ताजको होइन, स्थिरताको आवश्यकता छ । त्यसैले अब राजा होइन, जनताले प्रत्यक्ष रूपमा चुनेको कार्यकारी राष्ट्रपतिको व्यवस्था नै स्थायित्वको प्रमुख आधार हो,” भट्टराईले भने ।

    उनले वर्तमान संसदीय प्रणाली कमजोर भएकाले प्रभावकारी सरकार निर्माणमा अवरोध सिर्जना भइरहेको तर्क गरे। उनले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि पूर्ण समानुपातिक संसदीय प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिए । “यदि हामीले पूर्ण समानुपातिक संसदीय प्रणालीतर्फ नलगे जुन सुकै पार्टी सरकारमा आए पनि प्रभावकारी सुधार गर्न सक्दैन ।

    यही कमजोरीको फाइदा उठाउँदै केही अराजक तत्वहरू पुनः सक्रिय हुने प्रयास गरिरहेका छन्,” भट्टराईले भने। यस्तै पार्टीका महासचिव सोनाम स्याङ्तानले संगठनात्मक कार्यसूची प्रस्तुत गर्दै आगामी दिनमा पार्टीलाई थप सशक्त बनाउनका लागि प्रदेशदेखि स्थानीय तहसम्म सांगठनिक विस्तारको आवश्यकता औंल्याए ।

    उनले पार्टीलाई विचारधारात्मक रूपमा मजबुत बनाउन निरन्तर प्रशिक्षण, संवाद र सामाजिक अभियानलाई प्राथमिकता दिने बताए भने केन्द्रीय सामाजिक अभियान तथा जनपरिचालन विभाग प्रमुख जी.एस. गुरुङले पार्टीको आगामी तीन महिनाका गतिविधिहरूबारे प्रकाश पारे। उनले पार्टीको नीति तथा कार्यक्रम जनस्तरसम्म पुर्‍याउन निरन्तर अभियान सञ्चालन गरिने उल्लेख गरे ।

    गुरुङका अनुसार, समाजवादी विचारधाराको प्रवर्द्धन, भ्रष्टाचारविरोधी पहल, र लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने कार्यक्रमहरू पार्टीको कार्यसूचीमा समावेश छन् । कार्यक्रमको क्रममा आईटी विभाग सदस्य अमित खानालले पार्टीलाई डिजिटल रूपान्तरण कसरी गर्ने भन्ने विषयमा आफ्नो कार्ययोजना प्रस्तुत गरे ।

    उनले पार्टीको सन्देशलाई प्रविधिमैत्री बनाउन डिजिटल प्लेटफर्मको प्रयोगलाई तीव्र पार्ने योजना सुनाए। पार्टीको डिजिटल संरचनालाई प्रभावकारी बनाउँदै सामाजिक सञ्जाल, वेब पोर्टल, र अनलाइन मिडियाहरूको अधिकतम उपयोगमार्फत विचार र गतिविधि प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए ।

    कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्ला प्रतिनिधिहरू, पार्टीका केन्द्रीय तथा प्रदेश नेताहरू, कार्यकर्ता, बौद्धिक वर्गका व्यक्तित्व तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले पार्टीलाई संगठनात्मक रूपमा अझ सशक्त बनाउँदै मुलुकलाई रूपान्तरण गर्ने अभियानलाई अघि बढाउनु पर्नेमा जोड दिएका थिए ।

    यस महाधिवेशनले पार्टीको सांगठनिक सुदृढीकरण, विचारधारात्मक स्पष्टता, र डिजिटल आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ