Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

टोखा नगरपालिकामा जेष्ठ नागरिकका लागि अल्जाइमर्स रोग र हेरचाहसम्बन्धी सचेतना कार्यक्रम


ग्लोबल पाना
शनिबार, चैत १६ २०८१
  • 507
    SHARES

  • images
    टोखा नगरपालिकामा जेष्ठ नागरिकका लागि अल्जाइमर्स रोग र हेरचाहसम्बन्धी सचेतना कार्यक्रम

    काठमाडौं । टोखा नगरपालिका, मैजुहिटीस्थित नगर कार्यपालिकाको कार्यालयमा ज्येष्ठ नागरिकहरूका लागि अल्जाइमर्स रोग तथा हेरचाह सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम २०८१ साल चैत्र १५ गते बिहान ११ः३० बजे सुरु भई नगरपालिकाको सामाजिक समावेशीकरण शाखाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा अल्जाइमर्स रोगका कारण, समाधानका उपायहरू र हेरचाहका विधिहरू बारे विज्ञहरूद्वारा जानकारी प्रदान गरिएको थियो ।

    images
    images
    images

    यससम्बन्धी विज्ञ मनोहर उप्रेतीले रोगको अवस्थाबारे पावरपोइन्ट प्रिजेन्टेसन प्रस्तुत गरेका थिए भने टोखा चण्डेश्वरी अस्पतालकी मेडिकल अफिसर सुजाता नगरकोटीले रोगसम्बन्धी जटिलताहरू, रोकथामका उपाय र हेरचाह विधिहरूबारे प्रशिक्षण दिएकी थिइन्। नगरपालिकाका विभिन्न वडाबाट आएका ५२ जना ज्येष्ठ नागरिकको सहभागिता रहेको फोकल पर्सन तथा वरिष्ठ महिला विकास सहायक लिला रिमालले जानकारी दिइन्।

    अल्जाइमर्स रोग मस्तिष्कमा असर पार्ने एक जटिल स्नायुगत रोग हो, जसले स्मरणशक्ति, सोच्ने क्षमतामा गिरावट ल्याउँछ र दैनिक जीवनयापनमा समस्या उत्पन्न गराउँछ। यो रोग सामान्यतः वृद्ध व्यक्तिहरूमा देखिन्छ, तर कहिलेकाहीँ युवावस्थामा पनि देखिन सक्छ। रोगको प्रमुख कारणमा मस्तिष्कको न्यूरोनहरू क्षयीकरण हुनु, प्रोटीनको असामान्य संचय, वंशाणुगत असर, तथा अन्य स्नायुगत समस्याहरू पर्दछन्। प्रारम्भिक लक्षणहरूमा भुल्ने बानी, नाम, ठाउँ, समय बिर्सने, विचार गर्ने क्षमतामा समस्या देखिनु, व्यवहारमा परिवर्तन आउनु आदि पर्दछन्।

    जटिल अवस्थामा बिरामीलाई आफ्नै परिवार, घर र आफ्नो पहिचानसमेत सम्झन गाह्रो हुन्छ। विश्वभर अल्जाइमर्स रोगबारे अनुसन्धान हुँदै आएको छ। सन् १९०६ मा जर्मन न्यूरोलोजिस्ट एलोइस अल्जाइमरले पहिलो पटक यो रोग पहिचान गरेका थिए। विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वभर लाखौँ मानिसहरू यो रोगबाट प्रभावित छन्। विकसित देशहरूमा यसको रोकथाम तथा व्यवस्थापनका लागि विशेष नीति बनाइएका छन् भने नेपालमा यसबारे जनचेतना अभाव देखिन्छ। नेपालमा वृद्धजनसंख्या बढ्दै गएकाले निकट भविष्यमा यो रोगको प्रभाव झन् बढ्न सक्ने विज्ञहरूको अनुमान छ।

    यही कारण, यस्ता सचेतनामूलक कार्यक्रमहरूको आवश्यकता अझ बढ्दो छ। टोखा नगरपालिकाले अल्जाइमर्स रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्न भविष्यमा पनि अन्य वडाका वृद्धवृद्धाको सहभागितामा यस्तै कार्यक्रम गर्ने सामाजिक समावेशीकरण शाखा प्रमुख निर्मला रेग्मीले बताउनुभयो। उपस्थित वृद्धवृद्धाहरूले प्रशिक्षणबाट महत्वपूर्ण जानकारी प्राप्त गरेको अनुभव व्यक्त गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ