टोखा, काठमाडौं । टोखा नगरपालिका वडा नं. २ का अध्यक्ष धमेन्द्र श्रेष्ठको पहलमा सञ्चालित ४५ दिने बेसिक ब्यूटी पार्लर तालिम आज एक समारोहबीच सम्पन्न भएको छ । "सीप सिकौं, उद्यमी बनौं" भन्ने नारासहित सञ्चालन गरिएको तालिम टोखा–२, चण्डेश्वरीस्थित सिस्टर ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरमा सम्पन्न भएको हो ।
समापन समारोहमा बोल्दै वडा अध्यक्ष धमेन्द्र श्रेष्ठले सीपमूलक तालिमहरू महिलाहरूको सशक्तिकरण र आत्मनिर्भरता कायम गर्न महत्त्वपूर्ण हुने बताउनु भयाे । 'यस्ता कार्यक्रमले महिलाहरूलाई आत्मनिर्भर बनाउँदै वडाभित्र उद्यमशीलताको विकासमा सहयोग पुग्छ,' उहाँले भन्नुभयाे ।
वडा सदस्य सविना श्रेष्ठले तालिममा सहभागिता जनाउने सबैलाई धन्यवाद दिँदै भविष्यमा अझ उपयोगी र व्यावसायिक तालिमहरू सञ्चालन गरिने जानकारी दिनु भयाे । "सामाजिक रूपान्तरण र महिला सशक्तिकरणमा यस्ता कार्यक्रम प्रभावकारी हुने देखिएको छ," उहाँले भन्नुभयाे ।
प्रशिक्षक ब्युटिसियन शान्ती श्रेष्ठले तालिममा सहभागी महिलाहरूको सिक्ने इच्छाशक्ति र मेहनतीपनको प्रशंसा गर्नुभयाे । 'सहभागीहरूमा आत्मविश्वास बढेको र उहाँहरूले सिकेका सीपहरू व्यवहारमा उतार्ने तयारी गर्नुभएकाे छ,' उहाँले भन्नुभयाे ।
टोखा नगरपालिका वडा नं. २ को आयोजना तथा सिस्टर ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको सहयोगमा सम्पन्न उक्त तालिममा स्थानीय महिलाहरूले ब्यूटी पार्लरसम्बन्धी आधारभूत सीपहरू सिकेपछि प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
.gif)




