Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

थारू समुदायको हक–हित माओवादी आन्दोलनको उपलब्धि हो : अध्यक्ष प्रचण्ड


ग्लोबल पाना
शुक्रबार, भदौ १३ २०८२
  • 363
    SHARES

  • images
    थारू समुदायको हक–हित माओवादी आन्दोलनको उपलब्धि हो  : अध्यक्ष प्रचण्ड

    कावासोती । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू समुदायको अधिकार, पहिचान र संवैधानिक मान्यताको जग माओवादी जनयुद्ध र आन्दोलनले बनाएको बताउनुभएको छ ।

    images
    images
    images

    नवलपुरको कावासोती–१६ डण्डामा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा आयोजित जिल्ला स्तरीय भौदी खेल प्रतियोगितामा सहभागी भइ सम्बोधन गर्नुभएका अध्यक्ष प्रचण्डले थारू समुदायका अधिकार सुनिश्चित गर्न जनयुद्धले गरेको योगदानलाई सम्पूर्ण थारु समुुदायले आत्मसाथ गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

    “यदि जनयुद्ध र जनआन्दोलन नभएको भए, संविधानसभामा पुगिएको थिएन भने अहिले थारू समुदायको पहिचान, अधिकार र आयोग जस्ता उपलब्धिहरू सम्भव हुने थिएन,” प्रचण्डले भन्नुभयो । उहाँले संविधान निर्माणको क्रममा थारूलाई मधेसी क्लस्टरमा राख्ने वा केवल आदिवासी जनजातिको रूपमा समेट्ने दुई धाराबीचको बहसका बेला माओवादीले थारूको ‘अलग क्लस्टर’ को मान्यता र संवैधानिक आयोगको मागलाई प्रष्ट र बलियो रूपमा उठाएको कुरा थारु समुदायले आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।

    गण्डकी प्रदेशमा थारू जनसंख्या न्यून भएकाले थारू समुदायको स्वतन्त्र राजनीतिक प्रतिनिधित्व सम्भव नदेखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले नवलपुर क्षेत्रलाई विशेष वा स्वायत्त क्षेत्रको रूपमा घोषणा गर्नुपर्ने बताउनुभयो ।

    “नवलपुर क्षेत्रमा गैँडाकोटदेखि विनायक त्रिवेणीसम्म थारूको क्लस्टर रहेको हुँदा, त्यसलाई विशेष क्षेत्र वा स्वायत्त क्षेत्रको रूपमा मान्यता दिनुपर्छ,” उहाँले भन्नुभयो। सोही माध्यमबाट प्रदेश र संघमा थारूको पहिचानअनुसारको प्रतिनिधित्व सुनिश्चित गर्न सकिने उहाँको भनाई थियो ।

    सो अवसरमा थारू संग्रहालयका लागि छुट्याइएको झन्डै ७ बिघा जग्गाको अहिलेसम्म भोगाधिकार नआएको विषयप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले उक्त विषयलाई संसदमा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा उठाउने र वन मन्त्रालयसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    परम्परागत थारू खेल ‘भौदी’ लाई नेपाली मौलिकतासँग जोड्दै प्रचण्डले यसलाई थारू समुदायको विशिष्ट सांस्कृतिक सम्पदा भएको उल्लेख गर्नुभयो। “यो खेल हाम्रो नेपाली मौलिकता भएको थारू समुदायको क्रिकेट जस्तै हो,” भन्दै उहाँ भौदी प्रतियोगिताको उद्घाटन गर्दै केही क्षण खेलमा सहभागी समेत हुनुभएको थियो ।

    सो अवसरमा अध्यक्ष प्रचण्डले युवाकालमा नवलपुरको त्रिभुवन टारस्थित विद्यालयमा करिब ६ महिना शिक्षकका रूपमा बिताएको स्मरण गर्दै यहाँको समुदायप्रति आफ्नो भावनात्मक लगाव रहेको बताउनुभयो। यो क्षेत्रलाई पञ्चायती शासनविरुद्धको आन्दोलनको प्रारम्भिक थलोको रूपमा पनि उल्लेख गर्नुभयो ।

    संविधानले व्यवस्था गरेका स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रसम्बन्धी प्रावधान अझै कार्यान्वयनमा नआएको उल्लेख गर्दै उहाँले दलित, महिला, आदिवासी लगायत उत्पीडित समुदायहरूको अधिकार स्थापनाको कार्य अझै अधुरो रहेको बताउनुभयो ।

    “थारू समुदायको पहिचान स्थापित गर्नु मात्रै होइन, बाँकी अधिकार प्राप्तिको संघर्षमा पनि माओवादी सधैं थारू लगायत दलित, महिला, आदिवासी लगायत सबै उत्पीडित समुदायसँग छ,” अध्यक्ष प्रचण्डले भन्नुभयो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ