Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष प्रचण्डको निर्देशन


ग्लोबल पाना
सोमबार, भदौ १६ २०८२
  • 431
    SHARES

  • images
    पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष प्रचण्डको निर्देशन

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै, संगठन निर्माणका लागि आत्मसमिक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिनुभएको छ।

    images
    images
    images

    बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी अध्यक्ष प्रचण्डले पार्टीभित्र उठेका विभिन्न बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राख्नुभयो। उहाँले पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहेको भए पनि त्यसलाई संगठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि सम्भव नहुने बताउनुभयो।

    भर्चुअल बैठकमा सहभागी हुनुको कारण स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “सचिवालय र इन्चार्ज कमरेडले भौतिक रूपमा सुदूरपश्चिम आइदिन अनुरोध गर्नुभएको थियो, तर महिलाको राष्ट्रिय सम्मेलनलगायत केन्द्रीय गतिविधिका कारण म यो पटक भर्चुअलमार्फत सहभागी हुनुपर्‍यो। दशैंपछि मध्यपहाडी लोकमार्ग अभियान र केन्द्रीय बैठकहरू सकिएपछि दुई दिनको समय निकालेर म सुदूरपश्चिम प्रदेशमै आएर प्रत्यक्ष संवाद गर्नेछु।”

    अध्यक्षले सबै जिल्ला संयोजक र इन्चार्जहरूको रिपोर्टिङको प्रशंसा गर्दै सुदूरपश्चिम प्रदेशमा हाल वैचारिक, राजनीतिक र सांगठनिक सुधारको सकारात्मक संकेत देखिएको बताउनुभयो। उहाँले निर्देशन दिँदै भन्नुभयो, “अब सबै नेता–कार्यकर्ताले गाउँ–बस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ।” त्यसैगरी, उहाँले पार्टीभित्र आत्मसमिक्षा र आलोचना–आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउँदै, हरेक कमरेडले विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

    अध्यक्ष प्रचण्डले पार्टी सरकारमा रहँदा हासिल गरिएका उपलब्धिहरू, त्यसपछिको खबरदारी अभियान तथा जनसंगठनहरूले सञ्चालन गरेका गतिविधिका कारण माओवादीप्रति जनविश्वास पुनः बढेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले सरकारमा हुँदा गरेका काम र अहिले सडकबाट उठाएका आवाजकै कारण जनभावना सकारात्मक बनेको छ। अब त्यसलाई सशक्त संगठनमार्फत संस्थागत गर्नु जरुरी छ।” बैठकका केही सहभागीले पार्टीभित्रको अन्तरसंघर्षबारे चासो व्यक्त गरेपछि अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुभयो, “हाम्रो पार्टी मात्रै यस्तो पार्टी हो जहाँ कार्यकर्ताले आफूले देखेको कुरा खुला रूपमा राख्न सक्ने अवसर पाउँछन्।

    पदाधिकारी बैठकदेखि स्थायी समिति बैठकसम्म खुला छलफल हुने हाम्रो संस्कार माओवादी केन्द्रमा मात्रै छ।” उहाँले संगठन निर्माणलाई अबको अभियानको मूल धार मानेर भन्नुभयो, “हामी निर्वाचनमा जान्छौं, आन्दोलनमा उत्रन्छौं भन्ने कुरा तब मात्र सार्थक हुन्छ, जब संगठन बलियो हुन्छ। त्यसैले सबै कमरेडहरू आत्मसमिक्षा गर्दै जनतामाझ पुग्नुहोस्, सदस्यता विस्तार गर्नुहोस्, जनसंगठनहरूलाई सक्रिय पार्नुहोस्।” अध्यक्ष प्रचण्डले सुदूरपश्चिमलाई राजनीतिक र सांगठनिक हिसाबले माओवादी केन्द्रको सम्भावनायुक्त प्रदेश बताउँदै, त्यहाँका नेता तथा कार्यकर्ताहरूलाई व्यवस्थित, योजनाबद्ध, केन्द्रित र परिचालित गर्ने आवश्यकता औंल्याउनुभयो।

    उहाँले भन्नुभयो, “सुदूरपश्चिम सम्भावनायुक्त प्रदेश हो – क्रान्तिको समयमा पनि र अहिले शान्तिको समयमै पनि। त्यहाँ नेता–कार्यकर्ताहरूको ठूलो जमात छ। त्यसलाई व्यवस्थित गर्ने, योजनाबद्ध गर्ने, केन्द्रित गर्ने र परिचालन गर्ने चुनौती हाम्रो अगाडि छ।” बैठकमा विशिष्ट अतिथि पार्टी उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोख्रेलले सुदूरपश्चिममा पार्टीको भावी रणनीति, सांगठनिक विस्तार तथा स्थानीय तहसम्मको पहुँच विस्तारबारे स्पष्ट कार्ययोजना प्रस्तुत गर्नुभयो। उहाँले सुदूरपश्चिमको विशेष परिस्थितिअनुसार जनसम्पर्क र संगठन सुदृढीकरणमा केन्द्रित हुने बताउनुभयो।

    भर्चुअल बैठकमार्फत अध्यक्ष प्रचण्डले पार्टीलाई एकीकृत, केन्द्रित र अभियानमुखी बनाउनेमा जोड दिँदै कार्यकर्तालाई संगठन निर्माण र आत्मसमिक्षाको बाटोमा अघि बढाउने रणनीति प्रस्तुत गर्नुभएको छ। उहाँले निष्कर्षमा भन्नुभयो, “सकारात्मक माहोललाई संगठनमा बदलेर मात्र राजनीतिक सफलता सम्भव छ।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ