काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बसेको सचिवालय बैठकले हालको राजनीतिक तथा सामाजिक परिस्थितिलाई सम्बोधन गर्ने उद्देश्यले विभिन्न महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ । बैठकले भदौ २३ गते Gen Z पुस्ताले नेतृत्व गरेको शान्तिपूर्ण आन्दोलनप्रति पार्टीको नैतिक ऐक्यबद्धता रहेको स्पष्ट गर्दै तोडफोड, लुटपाट र विध्वंस भने रास्वपाको राजनीतिक संस्कृति नभएको दोहोर्याएको छ ।
समाज विभाजन बढ्न नदिन “सद्भाव तथा सहकार्य अभियान” सञ्चालन गर्ने घोषणा गर्दै पार्टीले असहमति संवाद र सहिष्णुताबाट समाधान गर्ने प्रतिबद्धता प्रकट गरेको छ । यस्तै, विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्ने सरकारको चासोलाई रास्वपाले स्वागत गरेको छ ।
यस विषयमा पार्टीसँगै तयार गरिएको ब्लुप्रिन्टलाई आधार मान्दै अन्तरिम सरकारलाई सहयोग गर्ने र विदेशस्थित नेपाली दूतावास, कन्सुलेट तथा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा बायोमेट्रिक सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन प्रस्ताव गर्ने निर्णय बैठकले गरेको छ ।
साथै, विशेषगरी Gen Z पुस्ताका युवाहरूलाई लक्षित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मतदाता नामावली दर्ता अभियान सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले २०८२ आश्विन ७ गते केन्द्रीय समितिको बैठक बस्ने र आगामी कार्यदिशासम्बन्धी छलफलका लागि विस्तारित बैठक बोलाउने तयारी गर्ने निर्णय गरेको छ ।
रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन आगामी फागुन ७, ८ र ९ मा गर्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि सरकारले फागुन २१ मा आम निर्वाचन घोषणा गरेपछि महाधिवेशनसम्बन्धी अन्तिम निर्णय आगामी विस्तारित बैठकले गर्ने प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


