Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

संग्रहालयमा राखिएको तोरण मंसिर ५ गते कुमारी बहाल (घर)मा पुनःस्थापना गर्ने निर्णय


ग्लोबल पाना
सोमबार, मंसिर १ २०८२
  • 471
    SHARES

  • images
    संग्रहालयमा राखिएको तोरण मंसिर ५ गते कुमारी बहाल (घर)मा पुनःस्थापना गर्ने निर्णय

    काठमाडौं । वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण आउँदो शुक्रबार (मंसिर ५) गते पुनःस्थापना गर्ने निर्णय भएको छ । वि. सं. २०५६ सालतिर चोरिएको तोरण संयुक्त राज्य वेलायतको बाराकाट संग्रहालयमा भेट्टाइएपछि फिर्ता गरेर राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको छ ।

    images
    images
    images

    यसरी राखिएको तोरण पुनःस्थापनाका लागि आज काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको साझेदार कार्यालयका अधिकारीहरुको बैठकले, थिंलाथ्व पारु अर्थात् नेपाल संवत्को दोस्रो महिनाको पहिलो दिन वडा नम्बर २३ कार्यालयको संयोजन र सरोकारवाला तथा समुदायसँगको समन्वयमा पुनःस्थापना गर्ने निर्णय गरेको हो ।

    बैठकमा बोल्दै उपप्रमुख डंगोलले, पूर्खाका सिर्जना समुदायमा असुरक्षित भए भनेर संग्रहालयमा राख्नु नहुने बरु, समुदायको जिम्मामा कलाकृतिलाई आफ्नै ठाउँमा राख्नु पर्ने धारणा व्यक्त गर्नुभयो । ‘महानगरपालिकाभित्रका मठमन्दिर, विहार, बहाल तथा अन्य सम्पदा स्थलहरुबाट चोरिएका धेरै कलाकृतिको पहिचान गरेका छौँ । ती कलाकृतिहरुलाई सम्बन्धित वडाको अगुवाईमा पुनःस्थापित गराउने अभियान नै चलाउँछौँ ।’ उहाँले भन्नुभयो, ‘कुमारी घरको तोरणको सुरक्षाका लागि सबै चनाखो हुनुपर्छ । अहिले समुदाय सचेत र सक्रिय छ । सुरक्षाका लागि आधुनिक प्रविधि उपलब्ध छ । वसन्तपुर क्षेत्र सुरक्षा निकायको आँखाभन्दा टाढा छैन । यसकारण तोरणलाई आफ्नै ठाउँमा राख्न अब डराउनु पर्दैन ।’

    बैठकमा वडा नम्बर २३ का अध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जनले, कुमारी घरको गरिमा बचाउन वडा कार्यालयले सक्रिय भूमिका निर्वाह गर्ने, आवश्यक स्रोत, साधन, उपकरण र जनशक्तिको परिचालन गर्ने धारणा राख्नुभयो । कुमारी घरका संरक्षक गौत्तम शाक्यका अनुसार यी २०५६/०५७ मा बेलुकाको समय पारेर ट्याक्सीमा राखेर तोरण चोरिएका हुन् ।

    ‘तोरण निकाल्दा निकाल्दै देखेर प्रश्न गर्नेलाई चोरले, मर्मत गर्न लगेको भनेर जवाफ दिएछन् ।’ शाक्यले भन्नुभयो, ‘३ महिनाभित्र ३ वटै तोरण हराएका हुन् । यसरी चोरी भएको विषय पुरातत्व विभागमा जानकारी दिएको र नेपाल प्रहरीमा खोजी गर्न निवेदन दिइएको थियो । तोरण हराएपछि बुच्चै भएका ढोकामा करिब ३ वर्षपछि प्रतिकृति तोरण बनाउन लगाएर स्थापना गरिएका हुन् ।

    ती तोरण बनाउँदा प्रतिगोटा करिब ८० हजार रुपियाँ खर्च भएको थियो ।’ बैठकमा सम्पदा संरक्षण अभियन्ता गणपति लाल श्रेष्ठले, अहिले असल नतिजाका लागि योगदान गर्ने समय भएकोले उल्लेख गर्दै तोरण पुनःस्थापना गर्ने विषयमा सबैको साथ र सहभागिता अपरिहार्य रहेको धारणा राख्नुभयो । तोरण पुनःस्थापनापछि कुमारी घरको प्राचीनतामा टेवा पुग्ने उहाँको भनाइ थियो ।

    सम्पदा संरक्षण अभियन्ता सञ्जय अधिकारीले, कुटनीतिक पहलबाट तोरण फिर्ता गरिएको अनुभव सुनाउनुभयो । मूर्ति हराउनु, मन्दिर भत्किनुले समुदायमा सम्पदा संरक्षणको प्रणालीमा समस्या छ भन्ने बुझेर स्थानीइ सरकारले संरक्षणका कार्यक्रम तर्जुमा गर्नु पर्ने अधिकारीको भनाइ थियो । कुमारी वहालको तोरण र मञ्जुश्री नकःमहाविहारका दाताको मूर्ति २०७८ चैत ४ गते (सन् २०२२ मार्च १८ तारिख)का दिन बेलायतका लागि नेपालको दूताबासमा हस्तान्तरण गरिएको थियो । त्यसपछि नेपाल ल्याएर छाउनी संग्रहालयमा बुझाइएको थियो ।

    यसरी हराएका चोरिएका कलाकृति तथा मूर्तिहरु फिर्ता गराउन सन् १९७० को युनेस्को महासन्धिको व्यवस्था प्रयोग गर्ने गरिएको छ । यसले सांस्कृतिक सम्पत्तिको अवैध आयात, निकासी तथा स्वामित्व हस्तान्तरणलाई निषेध र रोकथाम गरेको छ । यो महासन्धिलाई विश्वका १४५ देशले स्वीकार गरेका छन् । प्राचीन स्मारक ऐन २०१३ अनुसार १ सय वर्ष अवधि पूरा गरेका सांस्कृतिक संरचनालाई सम्पदाका रुपमा ग्रहण गरिन्छ । कुमारी बहाल राजा जय प्रकाश मल्लको पाला (वि. सं. १८१४) मा निर्माण भएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ