Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

महानगरबासीलाई डिजिटल साक्षरता प्रशिक्षण प्रदान गर्ने समितिको निर्णय


ग्लोबल पाना
बुधबार, मंसिर १० २०८२
  • 327
    SHARES

  • images
    महानगरबासीलाई डिजिटल साक्षरता प्रशिक्षण प्रदान गर्ने समितिको निर्णय

    काठमाडौँ । महानगरबासीलाई विद्युतीय सेवा सम्बन्धी काम गर्न सक्ने बनाउन, यस्तो सेवा लिँदा हुन सक्ने इन्टरनेटजन्य असुरक्षाबाट बचाउन डिजिटल साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम प्रारम्भ गर्ने काठमाडौँ महानगरपालिकाको सूचना प्रविधि समितिले निर्णय गरेको छ ।

    images
    images
    images

    आज समितिका संयोजक एवं प्रवक्ता नविन मानन्धरको अध्यक्षतामा बसेको बैठकले, प्रविधिको बढ्दो प्रयोगलाई उपयोगी काममा प्रयोग गराउन तथा प्रविधिजन्य जोखिमबाट बचाउन यसप्रकारको प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो ।

    ‘प्रविधिको प्रयोगसँगै इन्टरनेटको सही उपयोग र आधारभूत डिजिटल सुरक्षाका बारेमा हरेक व्यक्तिलाई थाहा हुनुपर्छ ।’ प्रवक्ता मानन्धरले भन्नुभयो, ‘प्रविधिको उपयोगले जीवनलाई जति सहज बनाउँछ, चलाउँदा ख्याल गरिएन भने जोखिम पनि उत्तिकै बढाउँछ । प्रविधिको सही प्रयोगबाट सेवामा सहज पहुँच बढाउन र यसमा हुन सक्ने जोखिमबाट महानगरबासीलाई बचाउन प्रशिक्षण चाहिएको हो ।’

    समितिका सदस्य एवं वडा २९ का अध्यक्ष कुश ढकाल भन्नुहुन्छ, ‘हामी डिजिटल भुक्तानीलाई प्रवर्धन गरिरहेका छौँ । यसरी भुक्तानी गर्दा अपनाउनु पर्ने सुरक्षा विधिका विषयमा भनेका छैनौँ । हामीले कार्यान्वयन गर्न चाहेको विद्युतीय शासनको प्रभावकारी कार्यान्वयनमा लागि नागरिकहरुलाई आत्मविश्वाशका साथ प्रविधि चलाउन सक्ने बनाउनु पर्छ ।

    साइबर सुरक्षाका विषयमा जानकार बनाउनु पर्छ । यो दायित्व हाम्रै हो । प्रशिक्षणबाट यो दायित्व पूरा हुन्छ ।’ समितिका सदस्य सचिव एवं सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार वडा नम्बर १७, १८, १९ र २९ मा प्रशिक्षण सुरु गरेर क्रमशः अन्य वडामा विस्तार गर्दै लगिनेछ ।

    डिजिटल साक्षरतालाई प्रशिक्षार्थीको सूचना प्रविधिसँगको ज्ञानका आधारमा आधारभूत, मध्यम र विशिष्ट विषय राखेर प्रशिक्षण गराउन सकिन्छ । मोबाइल प्रविधि प्रशिक्षणका लागि पहिलो आवश्यक विषय हो । स्मार्टफोनलाई सही सेटिङ् गरिएन भने व्यक्तिगत विवरण चोरी हुन सक्छ । गलत एप्लिकेसनबाट व्यक्तिगत, पारिवारिक सूचना अर्काले लिएर आपराधिक क्रियाकलापमा प्रयोग गर्न सक्छ ।

    यसका लागि एप्लिकेसनको जोखिमबाट बच्ने तरिका, मोबाइल डाटाको प्रयोग, वाइफाईको प्रयोग र सुरक्षा, हरेक प्रयोगकर्तालाई थाहा हुनुपर्छ । डिजिटल वित्तीय साक्षरता, मोबाइल बैंकिङ र वालेट्स, अनलाइन भुक्तानी, यसमा हुन सक्ने ठगी र बच्ने उपाय इन्टरनेट चलाउने हरेक व्यक्तिलाई ज्ञान हुनुपर्छ । व्यक्तिगत गोपनीयतासँगै साइबर सुरक्षाका लागि बलियो पासवर्ड राख्ने तरिका, ओटीपी (वन टाइम पासवर्ड)को प्रयोग, भाइरस, एन्टी भाइरस, शंकास्पद लिङ्कको पहिचान र यसबाट बच्ने तरिका जान्नु पर्छ ।

    सामाजिक सञ्जालको प्रयोग, सामग्री शेयर गर्दा ख्याल गर्नु पर्ने कुरा, डिजिटल फुटप्रिन्ट, अनलाइन व्यवहारको ज्ञान हुनुपर्छ । सूचना साक्षरतामा भ्रामक समाचार र सही समाचार बिचको भिन्नता, सूचनाको स्रोत पुष्टि गर्ने तरिका पनि नागरिकले थाहा पाउनु पर्छ । कम्प्युटरका अङ्ग र सञ्चालन गर्ने विधि, फाइल व्यवस्थापन, फाइल सेभ गर्ने, कपी पेस्ट गर्ने, फाइलहरू खोज्ने तरिका, इन्टरनेट र ब्राउजिङ तथा वेब ब्राउजरको प्रयोग जस्ता विषयमा जानकारी राख्नुपर्दछ ।

    सर्च इञ्जिनको प्रयोग र सही सूचना खोज्ने तरिका, वेव साइटको विश्वसनीयता, इमेलबाट गरिनेछ सञ्चार, भिडियो कन्फरेन्सिङ्, कार्यालय प्रयोजनका सफ्टवेयरहरु, डकुमेन्ट टाइप गर्ने, फम्र्याट मिलाउने, प्रिन्ट गर्ने, स्प्रेडसिट, प्रेजेन्टेसन जस्ता विषयको जानकारी चाहिन्छ ।

    यी सबै विषयमा महानगरबासीलाई बुझ्न सक्ने बनाउन प्रशिक्षण सञ्चालन गर्न लागिएको हो । यससँगै गएका बैठकहरुले गरेका निर्णय कार्यान्वयनको अवस्थाको समीक्षा गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ