Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

‘राष्ट्रको संकट समाधान गर्न वाम–देशभक्त एकता अपरिहार्य’ : प्रचण्ड


ग्लोबल पाना
शनिबार, मंसिर १३ २०८२
  • 364
    SHARES

  • images
    ‘राष्ट्रको संकट समाधान गर्न वाम–देशभक्त एकता अपरिहार्य’ : प्रचण्ड

    धनगढी । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनगढीमा आयोजित सन्देश सभामा देश गम्भीर राजनीतिक मोडमा पुगेको बताउँदै वामपन्थी तथा देशभक्त शक्तिहरूबीच बृहद् एकता अपरिहार्य भएको बताउनुभएको छ। आगामी चुनाव देशको निकासको मुख्य मार्ग भएको भन्दै उनले सबैलाई निर्वाचन प्रक्रियामा गम्भीरतापूर्वक जुट्न अपिल गर्नुभयो ।

    images
    images
    images

    सभालाई सम्बोधन गर्दै प्रचण्डले सुदूरपश्चिम प्रदेशसँग आफ्नो विशेष भावनात्मक र राजनीतिक सम्बन्ध रहेको उल्लेख गर्नुभयो। गणतन्त्र स्थापना पश्चात सबैभन्दा धेरै संवाद, भ्रमण र विकास पहल सुदूरपश्चिममै गरिएको उहाँको भनाई थियो। “सुदूरपश्चिममा जनयुद्ध र जनआन्दोलनमा अपार बलिदान भएको छ। त्यही बलिदानको कदर गर्दै हामीले पछिल्ला वर्षहरूमा यो क्षेत्रलाई निरन्तर प्राथमिकतामा राख्यौँ,” संयोजक प्रचण्डले भन्नुभयो संयोजक प्रचण्डले हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टी १५ वटा कम्युनिस्ट घटकहरूको ऐतिहासिक एकताको परिणाम भएको उल्लेख गर्दै यसले देशभर नयाँ ऊर्जा पैदा गरेको उल्लेख गर्नुभयो।

    एमालेभित्रका देशभक्त तथा क्रान्तिकारी कार्यकर्तालाई पनि यस पार्टीमा एकताबद्ध हुन आग्रह गर्दै उहाँले भन्नुभयो, “अब कोही माओवादी, कोही समाजवादी, कोही केन्द्रीय—भन्नुपर्ने आवश्यकता छैन। सबै नेपाली कम्युनिष्ट। यही भावना अनुसार पार्टीको नाम राखिएको हो।” देशव्यापी चर्चामा रहेको जेएनजी आन्दोलनबारे बोल्दै प्रचण्डले २३ र २४ गतेका घटनालाई “नरसंहार” का रूपमा चित्रित गर्नुभयो। युवापुस्ताका मागहरू जायज रहेको पुनः दोहोर्‍याउँदै उनले सरकारको बल प्रयोग गलत भएको बताउनुभयो।

    उहाँले राजनीतिक नेतृत्व तथा अभिभावकहरूलाई आत्मालोचना गर्नुपर्ने बताउनुभयो—“हामीले आफ्नै छोराछोरी, नाति–नातिनातर्फ पर्याप्त ध्यान दिन सकेनौँ। उनीहरू इन्टरनेट र एआईको नयाँ संसारमा पुगे। हामी सबैले घर–परिवारबाटै युवालाई इतिहास, राष्ट्र र समाजबारे शिक्षित बनाउनै पर्छ।” उहाँका अनुसार जेएनजी युवाहरू बिस्तारै सही अभिभावक पहिचान गर्दै नेपाली कम्युनिष्ट पार्टीमै केन्द्रित हुन थालेका छन्।

    प्रचण्डले देश केही महिना अघिको राजनीतिक संकट अत्यन्त गम्भीर मोडमा पुगेको बताउँदै २६ गते राति “गणतन्त्र खारेज हुनसक्ने” सम्मको चर्चा चलेको स्मरण गर्नुभयो।सो रात राष्ट्रपति कार्यालयबाट आकस्मिक बोलाहट आएपछि उहाँले र माधवकुमार नेपालले शीतल निवास पुगेर संविधान र प्रणालीलाई जोगाउन सक्रिय भूमिका खेलेको बताउनुभयो। “राष्ट्र विहीनजस्तै अवस्था आएको थियो। त्यस्तो संकट दोहोरिन नदिन वाम–देशभक्तहरूको ठूलो एकता आवश्यक छ,” संयोजक प्रचण्डले भन्नुभयो।

    आगामी निर्वाचन नै देशलाई स्थिरता दिने मार्ग भएको स्पष्ट गर्दै प्रचण्डले विगतमा संसद विघटनमा संलग्नहरूले अहिले पुनःस्थापनाका कुरा उठाउनु बेमौसमको बतास जस्तै भएको टिप्पणी गर्नुभयो। एमाले अध्यक्ष केपी शर्मा ओली तर्फ इंकित गर्दै “देशलाई उल्टो बाटोमा लैजाने दम्भी र अहंकारी प्रवृत्तिलाई जनता आफैंले सबक सिकाउने बेला आएको छ,” उहाँले भन्नुभयो ।

    साथै, उहाँले सबै शक्ति मिलेर कृषि, उद्योग, पर्यटन, जडीबुटी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमार्फत देशको कायापलट गर्न आवश्यक रहेको बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ