Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

२३५ जना परम्परागत बाजा गुरुलाई नगदसहित काठमाडौँ महानगरपालिकाको सम्मान


ग्लोबल पाना
आइतबार, मंसिर २८ २०८२
  • 349
    SHARES

  • images
    २३५ जना परम्परागत बाजा गुरुलाई नगदसहित काठमाडौँ महानगरपालिकाको सम्मान

    काठमाडौं। काठमाडौँ महानगरपालिकाले २३५ जना परम्परागत बाजा गुरुहरुलाई जनही नगद ३० हजार रुपियाँसहित सम्मान गरेको छ । ३१ औँ महानगर दिवस २०८२ का अवसरमा आज राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, समितिका सदस्यहरु, कार्यपालिकाअन्तर्गतका समितिका संयोजकहरुले सम्मान गर्नुभएको हो ।

    images
    images
    images

    सम्मानित हुने गृरुहरुमा ज्यापु महागुथि नेपाः, येँ महानगर समितिबाट शिफारिस हुनुभएका परम्परागत ६३ टोलका ६३ जना मु–धिमे गुरु र ५२ जना दाफा खिं गुरु हुनुहुन्छ । गुंलाबाजं व्यवस्थापन व संरक्षण संघबाट सिफारिस हुनुभएका २६ टोलका एकएक जना गुरु, नेपाल खड्गी सेवा समितिबाट शिफारिस हुनुभएका ६९ टोलका एक एक जना नायःखिं बाजं गुरु, नेपाल राष्ट्रिय खड्गी समाजबाट १४ टोलबाट शिफारिस हुनुभएका १४ जना गुरु हुनुहुन्छ ।

    यस्तै केन्द्रीय मानन्धर संघबाट सिफारिस हुनुभएका ४ टोलका ४ जना र विभिन्न संघसंस्थाहरुबाट शिफारिस हुनुभएका ७ जना बाजा गुरुलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले, स्वःस्फूर्त परम्परागत बादन संस्कृति जोगाउन योगदान गर्नु हुने बाजा गुरुहरुले प्रदान गरेको जीवन्तता कायम राख्न महानगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।

    ‘परम्पराको संरक्षण र प्रवर्धन अहिले नै आँखाले देखेजस्तो दृश्यात्मक हुँदैन । तर, अमूल्य हुन्छ । पछिल्लो समयका प्रशिक्षण र सांस्कृतिक क्रियाकलापहरुमा युवाहरुको आकर्षण बढ्नुले संस्कार पुस्तान्तरण हुने वातावरण बनेको छ ।’ उहाँले भन्नुभयो, ‘स्वार्थ नराखी, फलको अपेक्षा नराखी निरन्तर संस्कृति बचाउन काम गर्ने गुरुहरुलाई शव्द र नगदबाट गरिने सम्मान कम हुन्छ ।

    महानगरपालिकाले योभन्दा उच्च कोटीमा राखेर गुरुहरुप्रति आदर भाव प्रकट गर्दछ ।’ कार्यक्रममा बोल्दै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, बाजा गुरुहरुको सम्मानबाट अमूर्त सम्पदाको संरक्षणमा योगदान हुने अपेक्षा रहेको बताउनुभयो । ‘बादन संस्कारले मूर्त सम्पदा क्षेत्रलाई जीवन्तता दिएका छन् । बाजा गुरुहरुकै कारण बादन संस्कार जोगिएको हो ।

    यो परम्परा बचाइ राख्न महानगरपालिका र समुदायका बिच दिगो सम्बन्ध रहने हामीले अपेक्षा गरेका छौँ ।’ संगतको भनाइ थियो । बादन संस्कार बचाउन व्यक्तिले अरु अवसर त्याग गर्नुपर्छ । यो बाजा गुरुहरुको यो त्यागमाथि चर्चा गर्दै समितिका सदस्य एवं वडा नम्बर १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले भन्नुभयो, ‘सम्मान कार्यक्रम एक दिन हुन्छ । तर, महानगरपालिका गुरुहरुप्रति हरेक दिन अनुग्रहित छ ।’ परम्परागत बाजा गुरुहरुको सम्मानबाट महानगरपालिकाले गौरव महसुस गरेको वडा १६ का अध्यक्ष रोजिना श्रेष्ठले धारणा राख्नुभयो ।

    कार्यक्रममा ज्यापू महागुथि नेपाः, येँ महानगर समितिका अध्यक्ष पञ्चनारायण महर्जन, नेपाल खड्गी सेवा समितिका अध्यक्ष रञ्जिता खड्गी, गुंलाबाजं व्यवस्थापन व संरक्षण समितिका अध्यक्ष अमिरमान शाक्यसहित वक्ताले, महानगरपालिकाले गुरुहरुलाई सम्मान गरेपछि सरकारबाट संरक्षण पाएको अनुभूति भएको धारणा राख्नुभयो । बाजागाजा उपलब्ध गराउने, वजाउने तरिका सिक्ने तथा धार्मिक सामाजिक कार्यमा बादन गर्ने कामका लागि महानगरपालिकाको अझ सशक्त अभिभावकत्वको अपेक्षा गर्दै उहाँहरुले अहिले थालिएका कार्यक्रमको प्रशंशा गर्नुभयो ।

    कार्यक्रममा बाजा गुरुहरुलाई शिफारिस गर्ने संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति थियो । १९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । ०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ । दिवसका अवसरमा आज प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ मैत्रीपूर्ण फुटवल खेल सम्पन्न भएको छ ।

    यसैगरी नारायण चौरमा रैथाने मौलिक खाद्य स्वच्छता मेला आयोजना गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ