जुम्ला । नेपाली काँग्रेस जुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि चार जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमध्ये पार्टीभित्र अनुभवी, संगठनमा सक्रिय र जनसम्पर्कमा मजबुत नेताका रूपमा परिचित पूर्ण प्रसाद आचार्य पनि प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा सिफारिस भएका छन् ।
पार्टीभित्र लामो समयदेखि संगठन विस्तार, जनआन्दोलन तथा काँग्रेसको नीति–विचारलाई जिल्लामा मजबुत बनाउन योगदान पुर्याउँदै आएका आचार्यको नाम सिफारिस हुनु जुम्लाको राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।
प्रतिनिधि सभाका लागि नेपाली काँग्रेस जुम्लाले सभापति कर्ण बहादुर शाही, पूर्वसांसद कान्तिका सेजुवाल, खड्क बहादुर सेजुवाल र पूर्ण प्रसाद आचार्यको नाम केन्द्रमा पठाएको हो । सुरुआतमा एकल नाम सिफारिस गर्ने प्रयास गरिए पनि सहमति जुट्न नसकेपछि आकांक्षी सबैको नाम पठाइएको पार्टीले जनाएको छ ।
मंसिर २४ गतेदेखि निरन्तर बसेका पार्टीका छलफल र बैठकमा कान्तिका सेजुवाल र कर्ण बहादुर शाहीमध्ये एक जनाको नाम सिफारिस गर्ने प्रयास भए पनि अन्ततः सहमति नजुट्दा चारै जनाको नाम सिफारिस गरिएको हो । यस क्रममा पूर्ण प्रसाद आचार्यको सक्रिय भूमिका र संगठनात्मक योगदानलाई नेताहरूले महत्वका साथ उठाएका थिए ।
त्यसैगरी, समानुपातिक निर्वाचनका लागि १४ जना र राष्ट्रिय सभाका लागि चार जनाको नाम पनि सिफारिस गरिएको छ । जिल्लामा सहमति हुन नसकेपछि सबै आकांक्षीको नाम केन्द्रमा पठाइएको र केन्द्रले सदर गरेको नाम नै नेपाली काँग्रेस जुम्लाको आधिकारिक उम्मेदवार हुने पार्टीले स्पष्ट पारेको छ ।
पूर्ण प्रसाद आचार्यको सिफारिससँगै जुम्लामा काँग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धा थप चर्किएको छ भने केन्द्रको निर्णयले अन्तिम राजनीतिक समीकरण तय गर्ने देखिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


