काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागद्वारा आयोजित २७औँ ‘मातृभाषा साहित्य श्रृङ्खला (सिर्जना, संवाद र विमर्श)’ कार्यक्रममा नाछिरिङ भाषाकी कवि शान्ता नाछिरिङको कविता वाचन विशेष आकर्षणको केन्द्र बनेको छ । “सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान” भन्ने नारासहित देवकोटा सभाहलमा सम्पन्न कार्यक्रममा शान्ता नाछिरिङले नाछिरिङ भाषामा प्रस्तुत गरेका कविताले मातृभाषाको सौन्दर्य, भावनात्मक गहिराइ र सांस्कृतिक पहिचानलाई सशक्त रूपमा उजागर गरेको सहभागीहरूले बताएका छन् । उहाँको कविता वाचनले नाछिरिङ भाषाको साहित्यिक सामर्थ्य मात्र होइन, मातृभाषामा सिर्जना गर्नुको महत्त्वलाई पनि उजागर गरेको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ, साहित्यकार, पत्रकार तथा मातृभाषा साहित्यका विभिन्न प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । स्वागत मन्तव्य प्राज्ञ परिषद् सदस्य डा. कौशिला रिसालले दिनुभएको थियो भने कार्यक्रम सञ्चालन प्राज्ञ सभा सदस्य तथा सञ्चार संयोजक चेतनाथ धमलाले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले मातृभाषा साहित्य श्रृङ्खलाले भाषिक विविधताको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो । उहाँले मातृभाषालाई समकालीन सिर्जनासँग जोड्दै युवा पुस्ताको सहभागिता बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा मातृभाषा विभाग प्रमुख राजन मुकारुङले मातृभाषा साहित्य श्रृङ्खलाले विभिन्न भाषाका सर्जकहरूलाई साझा मञ्च प्रदान गर्दै आएको बताउनुभयो । उहाँले शान्ता नाछिरिङजस्ता सर्जकहरूको सिर्जनाले मातृभाषा साहित्यलाई थप जीवन्त बनाइरहेको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमलाई अझ प्रभावकारी र समावेशी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले हरेक महिनाको अन्तिम शुक्रबार नियमित रूपमा मातृभाषा साहित्य श्रृङ्खला कार्यक्रम आयोजना गर्दै आएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


