काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागद्वारा आयोजित २७औँ ‘मातृभाषा साहित्य श्रृङ्खला (सिर्जना, संवाद र विमर्श)’ कार्यक्रममा दुरा भाषाकी कवि सञ्चिता दुराले कविता वाचन गर्दै विशेष ध्यान खिच्न सफल भएकी छन् ।
“सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान” भन्ने नारासहित प्रतिष्ठानको देवकोटा सभाहलमा सम्पन्न कार्यक्रममा सञ्चिता दुराले दुरा भाषामा वाचन गरेका कविताले मातृभाषाको संवेदनशीलता, पहिचान र सांस्कृतिक चेतनालाई सशक्त रूपमा उजागर गरेको सहभागीहरूको प्रतिक्रिया थियो । उनका कविताले दुरा समुदायको जीवनभोगाइ, स्मृति र भाषिक सौन्दर्यलाई कलात्मक ढंगले प्रस्तुत गर्दै कार्यक्रमलाई भावनात्मक बनाएको थियो ।
कार्यक्रममा विभिन्न मातृभाषाका कविहरूले कविता वाचन गरे पनि सञ्चिता दुराको दुरा भाषाको प्रस्तुति श्रोतामाझ प्रभावशाली बनेको देखिन्थ्यो । मातृभाषामा सृजनात्मक अभिव्यक्तिको महत्व र यसको संरक्षणको आवश्यकता उनका कवितामार्फत स्पष्ट रूपमा अनुभूत भएको सहभागीहरूले बताएका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले मातृभाषा साहित्य श्रृङ्खला जस्ता कार्यक्रमहरूले भाषिक विविधताको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै, यस्ता सृजनात्मक प्रस्तुतीहरूले मातृभाषाप्रति नयाँ पुस्ताको आकर्षण बढाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको समापनमा मातृभाषा विभाग प्रमुख राजन मुकारुङले मातृभाषा साहित्य श्रृङ्खलाले विभिन्न समुदायका भाषिक आवाजलाई साझा मञ्च प्रदान गरिरहेको उल्लेख गर्दै, सञ्चिता दुराजस्ता स्रष्टाहरूको सक्रियताले मातृभाषा साहित्य अझ सशक्त बन्दै गएको बताउनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले हरेक महिनाको अन्तिम शुक्रबार नियमित रूपमा मातृभाषा साहित्य श्रृङ्खला कार्यक्रम आयोजना गर्दै आएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


