काठमाडौं । Gen Z 2.0 को आयोजनामा पौष ५ गते उद्योग, वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित सचेत कर्तव्यबोध र जिम्मेवार पहल विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको मूल सन्देश “हामी हाम्रो देश आफैँ बनाउँछौं, हामी आफ्नै क्षमतामा रोजगारी सिर्जना गर्छौं” रहेको थियो ।
कार्यक्रममा बोल्दै Gen Z 2.0 का प्रवक्ता अबिन लिम्बूले युवाहरू निराशामा होइन, उत्पादन र समाधान बोकेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले देशभित्रै सम्भावना खोजी उद्यम, उत्पादन र नवप्रवर्तनमार्फत रोजगारी सिर्जना गर्न सकिने उल्लेख गर्दै भने, “आजको आवश्यकता माग होइन, समाधान लिएर अघि बढ्ने सोच हो ।”
वित्तीय समस्या तथा समाधान विभाग प्रमुख हरिकिशोर महतोले उद्योग र निजी क्षेत्रलाई युवामैत्री बनाउन राज्य र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताए । साना तथा मझौला उद्योगको प्रवर्द्धन बिना रोजगारी समस्या समाधान हुन नसक्ने उनको धारणा थियो ।
कार्यक्रममा नेपाल प्याबसनका पूर्व केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले शिक्षा प्रणालीलाई उत्पादन, सीप र उद्यमसँग जोड्न नसक्दा युवा विदेशिन बाध्य भएको बताए । उनले व्यवहारिक शिक्षा र उद्यमशीलतालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
त्यसैगरी किर्तिपुर उद्योग वाणिज्य संघका अध्यक्ष राज्य लक्ष्मी शाक्यले राज्यको नीतिगत स्पष्टता, इमानदार कार्यान्वयन र युवाको सक्रिय सहभागिता बिना आर्थिक आत्मनिर्भरता सम्भव नहुने बताए । उनले युवाहरूलाई अवसर कुर्नु भन्दा अवसर सिर्जना गर्ने सोच विकास गर्न आग्रह गरे ।
Gen Z 2.0 का केन्द्रीय सचिव कुन्दन कुसुवाहाले संगठनको उद्देश्य र आगामी कार्यदिशाबारे जानकारी गराउँदै युवालाई उद्योग, उत्पादन र स्वदेशमै रोजगारी सिर्जनामा सक्रिय रूपमा जोड्ने अभियानलाई अझ व्यापक बनाइने बताए ।
त्यसैगरी जय प्रकाश गुप्ताले युवाको सक्रिय सहभागिता बिना उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रको रूपान्तरण सम्भव नहुने धारणा राख्दै जिम्मेवार पहलका साथ अघि बढ्न युवालाई आह्वान गरे । कार्यक्रममा सहभागी वक्ताहरूले Gen Z 2.0 को अभियानले निराश युवा पुस्तालाई उत्पादनमुखी सोचतर्फ उन्मुख गराउँदै देशभित्रै सम्भावना खोज्न प्रेरित गरिरहेको भन्दै प्रशंसा गरे ।
आयोजकले आगामी दिनमा पनि उद्योग, वाणिज्य र रोजगारीसँग सम्बन्धित यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर आयोजना गरिने बताए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


