Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

विकास गर्न स्थानीयको भाषा महसुस हुनुपर्छ, नत्र विकास दिगो हुँदैन : वडाध्यक्ष कार्की


ग्लोबल पाना
मंगलबार, पुस ८ २०८२
  • 735
    SHARES

  • images
    विकास गर्न स्थानीयको भाषा महसुस हुनुपर्छ, नत्र विकास दिगो हुँदैन : वडाध्यक्ष कार्की

    काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० ले गएको ५ महिनामा ७ करोड ५६ लाख ९४ हजार ६२७ रुपियाँ राजस्व संकलन गरेको छ । गएको वर्ष यही अवधिमा ६ करोड ७५ लाख ५७ हजार रुपियाँ राजस्व संकलन भएको थियो । आज मैतीदेवी प्राङ्गणमा वडाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा गएको वर्षमा सम्पन्न योजना तथा चालु आर्थिक वर्षमा प्राप्त नतिजाका बारेमा जानकारी दिने क्रममा संकलित राजस्वको अङ्क सार्वजनिक गरिएको हो ।

    images
    images
    images

    गएको वर्ष (आ.व. २०८१÷०८२) वडाले १६ करोड ८३ लाख १ हजार ५६२ रुपियाँ राजस्व संकलन गरेको थियो । यस वर्ष वडाका लागि ११ करोड २२ लाख रुपियाँ रकम निकासा भएको थियो । यसमध्ये ५ करोड २३ लाख ८५ हजार रुपियाँ खर्च भयो । यो ४६.६८ प्रतिशत हो । यस वर्ष वडाका २९ वटा योजना थिए । तीमध्ये १८ वटा योजनाको कार्य सम्पन्न भयो । ५ वटा वडा क्रमागतमा छन् । ६ वटा योजना सम्पन्न हुन बाँकी छन् । यी योजनामध्ये ४ वटा ठेक्कामार्फंत कार्यान्वयन गरिएको हो ।

    सहरी स्वास्थ्य प्रवर्धन केन्द्रबाट ११ हजार व्यक्तिले सेवा लिनुभयो । यस वर्षको ५ महिनामा ५ हजार व्यक्तिले सेवा लिइसक्नुभएको छ । वडाका १ हजार ६०१ परिवारका ३ हजार ४२९ जना स्वास्थ्य विमा कार्यक्रममा आवद्ध हुनुभएको छ । ज्ञानेश्वरको नारायण चौर, मैतिदेवी र पारसनाथ आनन्द भैरव मन्दिर परिसरमा खुल्ला व्यायाम स्थल स्थापना गरिएको छ । चालु आ. व. को पूँजीगत खर्चका लागि १२ करोड ५० लाख रुपियाँ विनियोजन भएको छ । यसबाट २८ वटा योजना कार्यान्वयन हुनेछन् ।

    यसमध्ये ४ वटा योजनाको ठेक्का भइसकेको छ । ४ वटा ठेक्का प्रक्रियामा छन् । एउटा उपभोक्ता समितिबाट कार्यान्वयनमा आउनेछ । सुनुवाई कार्यक्रममा बोल्दै वडाध्यक्ष दलबहादुर कार्कीले, स्थानीयको भाषा महसुस गर्न सके मात्र जनअपेक्षा बमोजिमको सेवा र पूर्वाधार विकास हुने बताउँदै आफू यसैबमोजिम निर्देशित भएको धारणा राख्नुभयो । वडाको आफ्नै प्रशासनिक भवन निर्माण हुनु पर्ने विषयमा उठेको प्रश्नको जवाफमा वडाध्यक्ष कार्कीले भन्नुभयो, ‘स्थानीय विवाद, झमेल र मुद्दाका कारण वडाको प्रशासकीय भवन निर्माणका लागि विनियोजित रकम खर्च गर्न पाइएन । वडाबासीलाई नै नचाहिने भएपछि हामीले बल गर्न सकेनौँ ।’

    कार्यक्रममा वडा सदस्य मनोज डंगोल र इन्दिरा श्रेष्ठले, नागरिकबाट प्राप्त हुने गुनासालाई दिनदिनै सुनेर सुधारका प्रयास जारी राखिएको बताउनुभयो । वडा सचिव देवराज जोशीका अनुसार वडामा हुने डुवानको समस्या समाधानका लागि ढल र मंगालको सर्वेक्षण गरेर दिगो निकासका उपाय खोज्ने योजना छ । ‘फायर ड्राइराइजरको सफल परीक्षण भएको छ । फायर इस्टीङ्ग्वीसर राख्ने योजना पनि कार्यान्वयन चरणमा छ ।’ उहाँले जानकारी दिनुभयो ।

    सामाजिक क्षेत्रका कार्यक्रमअन्तर्गत गएको वर्ष १२० जनालाई सिपमूलक तथा आयआर्जनमा आधारित तालिम प्रदान गरिएको थियो । वेकरी बनाउने, ३ महिने साङ्केतिक भाषा तथा व्याकरण तालिम, दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष सङ्गीत तालिम, अपाङ्गता भएका महिलाहरुका विचमा ह्वीलचियर महिला वास्केटबल प्रतियोगिता आयोजना गरिएको थियो ।

    यस्तै आधारभूत उद्घोषण तालिम, कुसन वनाउने तालिम, कपडाको खेलौना वनाउने तालिम, सावुन र सरफ वनाउने तालिम चलाइएको थियो । यस्ता कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिने वडाको योजना छ । सुनुवाई कार्यक्रममा सार्वजनिक शौचालयको संख्या वृद्धि गर्नुपर्ने, वडा प्रोफाइल बनाउनु पर्ने, साँघुरा पैदल मार्गलाई दोहोरो हिँड्न मिल्ने बनाउनु पर्ने, वडा भवन निर्माण गर्नुपर्ने, स्वास्थ्य बिमा कार्यक्रमलाई सरल बनाउनु पर्ने, कतै खानेपानी फालाफाल छ । कतै कहिल्यै नआउने अवस्था छ ।

    यसको सन्तुलन मिलाउनु पर्ने लगायत सुझाव प्राप्त भएका थिए । फल्चा उद्घाटन कार्यक्रममा वडाध्यक्ष कार्कीले २ वटा कर्नर फल्चाको उद्घाटन गर्नुभयो । यी फल्चाहरु करिब ४० लाख रुपियाँ लागतमा निर्माण गरिएका हुन् । मैतीदेवी मन्दिरको दक्षिणतर्फको खुला चउरको दुई कुनामा फल्चा निर्माण गरिएका हुन् ।

    यी फल्चाको लम्बाइ १५ फिट र चौडाइ १५ फिट छ । फल्चाको तल्लो भागमा थाम राखिएको खुला भाग छ । माथिल्लो भागमा सौन्दर्यका कलात्मक भाग र छाना बनाइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ