रौतहट । क्षेत्र नम्बर २ का सांसद प्रत्यासी तथा जेन्जी युवा नेता सोनु कुशवाहाले नेपाली समाजमा मौलाउँदै गएको पैसामुखी चुनावी संस्कृतिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले आजको यथार्थ चित्रण गर्दै “पैसा खर्च नगरी चुनाव जितिँदैन भन्ने सोच हाम्रो लोकतन्त्रका लागि डरलाग्दो अवस्था हो” भन्ने धारणा सार्वजनिक गर्नुभएको हो।
कुशवाहाका अनुसार यही मानसिकताका कारण देश विकासको स्पष्ट खाका बोकेका, इमानदार र सक्षम व्यक्तिहरू प्रत्यक्ष चुनाव लड्न हतोत्साहित हुँदै गएका छन्। उहाँले उदाहरण दिँदै जेन्जीका अगुवा पुरुषोत्तम यादव जस्ता व्यक्तिहरू समेत अन्ततः प्रत्यक्ष निर्वाचन छाडेर समानुपातिक प्रणालीको बाटो रोज्न बाध्य हुनु परेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “जबसम्म समाजमा इमानदार र क्षमतावान व्यक्तिहरू पाखा लाग्छन् र पैसाको खोला बगाउनेहरूले मात्र चुनाव जित्छन्, तबसम्म वास्तविक परिवर्तन सम्भव हुँदैन।”
सोनु कुशवाहाले लोकतन्त्रमा नागरिकको सबैभन्दा ठूलो शक्ति मत भएको उल्लेख गर्दै केही हजार रुपैयाँ वा दबाबमा परेर दिएको भोटले एक व्यक्तिको मात्र होइन, भावी पुस्ताको भविष्य समेत प्रभावित पार्ने चेतावनी दिनुभयो। उहाँका अनुसार यसको परिणामस्वरूप सक्षम मानिसहरू अवसरबाट वञ्चित हुने, भ्रष्टहरू सत्तामा पुग्ने र युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य हुने अवस्था सिर्जना भएको छ। उहाँले अझै पनि चेत नखुले समाजले गम्भीर मूल्य चुकाउनुपर्ने बताउँदै, बिचौलियाको भ्रममा परेर भोट हाल्ने प्रवृत्ति कायम रहेसम्म सन्तानहरू कुलत, बेरोजगारी र निराशाको भुमरीमा फसिरहने धारणा राख्नुभयो।
अन्त्यमा कुशवाहाले मतदातालाई आफ्ना मतको गरिमा बुझ्न आग्रह गर्दै “पैसा खर्च गर्नेलाई होइन, देशको भविष्य निर्माण गर्ने स्पष्ट भिजन भएकालाई चुनौँ” भन्ने सन्देश दिनुभएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


