Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भद्रकाली पुनःनिर्माणको अनुगमन : समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ


ग्लोबल पाना
बुधबार, पुस ९ २०८२
  • 341
    SHARES

  • images
    भद्रकाली पुनःनिर्माणको अनुगमन : समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ

    काठमाडौँ । भद्रकाली मन्दिरको पुनःनिर्माण प्रक्रिया सन्तोषजनक रुपमा अगाडि बढिरहेको बताउँदै महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले, पुनःनिर्माणको गुणस्तरमाथि निगरानी गरिरहनु सम्पदा तथा पर्यटन विभागलाई र समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिनुभएको छ ।

    images
    images
    images

    पुनःनिर्माण कार्यको अनुगमन गर्दै उहाँले, सत्तलमा काठ सम्बन्धी काम गर्दा परम्परागत रुपमा काठको काम गर्ने रैथाने सिप भएका व्यक्तिहरुको सुझाव र सहयोग लिन, कम्पाउण्ड वाल (सुरक्षा पर्खाल) बनाउँदा सुरक्षा, सुन्दरता, मौलिकता र उपयोग सहजतालाई ध्यान दिन निर्देशन दिनुभयो ।

    अनुगमनका क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, विभागका प्रमुख कुमारी राई र वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालले पुनःनिर्माणको प्रक्रिया, निर्माण सामग्री र शैली र ढाँचाका विषयमा जानकारी गराउनुभएको थियो । अनुगमनमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गरागाईँ,गुठी संस्थानका सदस्य सचिव शैलेशराज कुँवर, वडा २० का अध्यक्ष राजेन्द्र मानन्धर, गुथि तथा समुदायसँग सम्बन्धित पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

    योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले चालु आर्थिक वर्षमा कार्यान्वयन भएका योजनाहरुको नियमित अनुगमन भइरहेको एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीको भनाइ छ । भद्रकाली मन्दिर भौगोलिक रुपमा वडा नंं ११ मा पर्छ । यससँग सम्बन्धित जात्रा पर्व, संस्कार, संस्कृति तथा परम्परा वडा नं. २२ सहित भित्री वडासँग सम्बन्धित छन् ।

    सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार मन्दिर परिसरमा विभिन्न समुदायका कुल देवता स्थल भएकोले यसको गरिमा बचाउँदै पुननिर्माण कार्य भइरहेको छ । २०७२ सालको भूकम्पले जीर्ण भएको मन्दिर परिसरका सत्तल पुनःनिर्माणका लागि छनोट भएको निर्माण पक्षसँग २०८१ ज्येष्ठ ६ गते सम्झौता गरेर असार ४ गते कार्यादेश दिइएको थियो । त्यही महिनाको २७ गते जग पूजा गरेपछि मन्दिर परिसरको दक्षिण पश्चिमबाट भवन पुनःनिर्माण सुरु भएको हो ।

    पुनःनिर्माण अघि मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना थिए । कार्यादेश दिँदा पुननिर्माणका लागि ३६ करोड रुपियाँ लागत अनुमान गरिएको थियो । खुला प्रतिस्पर्धामा ३४ करोड ८० लाख ७१ हजार रुपियाँ कवोल गर्ने तुल्सी अम्बुजा जेभीले पुनःनिर्माणको जिम्मा पाएको छ । पुनःनिर्माण गर्दै जाँदा सरचना र डिजाइनमा केही परिवर्तन भएकोले भेरिएसन गरिएको छ ।

    सम्पदा तथा पर्यटन विभागका वरिष्ठ इञ्जिनियर रिजालका अनुसार संशोधित डिजाइनको लागत अनुमान करबाहेक ३७ करोड ३० लाख ८७ हजार रुपियाँ थियो । यसको सम्झौता रकम ३६ करोड ८० लाख ४ हजार रुपियाँ हो । निर्माण अवधि २०८४ असार ३ गतेसम्म हो । सत्तललगायत संरचनाको निर्माण परम्परागत नेवारी शैलीमा भइरहेको छ । कुँदिएका बुट्टेदार ढोका, झ्याल, थामको प्रयोग गरिएको छ । छानो झिँगटीको हुनेछ ।

    उत्तर (भृकुटीमण्डप) तर्फ २ वटा व्लक आपसमा जोडेर बनाइँदैछ । दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) ३ वटा ब्लक निर्माण हुँदैछन् । यिनीहरु पनि आपसमा जोडिएका छन् । विभागका इञ्जिनियर अनुपराज ढुङ्गानाका अनुसार भद्रकाली परिसरको क्षेत्रफल ४ हजार ५४४ वर्गमिटर हो । यसभित्र उत्तरतर्फको सत्तल ५८८.९२ वर्गमिटर र दक्षिणतर्फको सत्तल ३१६.४ वर्गमिटरको छ । मन्दिर पुननिर्माणका लागि सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको संयोजकत्वमा सहजीकरण समितिले काम गरिरहेको छ ।

    समितिको सदस्यहरुमा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, सहरी योजना आयोगका सदस्य बाबुराम भट्टराई, लुमधि भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर महर्जन, समितिका पूर्व अध्यक्ष गौतम डंगोल, पुरातत्व विभाग र गुठी संस्थानका प्रतिनिधि हुनुहुन्छ ।

    समितिको सदस्य सचिवमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई हुनुहुन्छ । सहजीकरण समितिले मन्दिर परिसरका संरचना पुनरुत्थान गर्ने क्रममा अभिलेखन, निर्माण सामग्रीको व्यवस्थापनसहित पुननिर्माणको काममा सहजीकरण गरिरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ