काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरुले आज शिष्टाचार भेट गर्नुभएको छ । कुलपति निशा शर्मा, उपकुलपति शम्भु राईलगायतको टोलीले प्रधानमन्त्री कार्कीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेट गरेको हो ।
टोलीले विशिष्ट अवस्थामा गठन भएको यस सरकारले आफ्नो कार्यादेश सफलतापूर्वक सम्पन्न गर्न सकोस् भनी शुभकामना पनि व्यक्त गरेको थियो । प्रधानमन्त्री कार्की प्रतिष्ठानका पदेन संरक्षक पनि हुनुहुन्छ । यस अवसरमा कुलपति शर्माले प्रतिष्ठानको अवस्था र कार्ययोजनाका बारेमा जानकारी गराउनुभएको थियो ।
देशभरको गीत, संगीत तथा नाट्य विधामा अध्ययन अनुसन्धान गरी संरक्षणका काम गर्नुपर्ने भए पनि राज्यको प्राथमिकतामा नपरेको गुनासो पनि उहाँले गर्नुभयो । प्रतिष्ठान अहिले प्रिफ्याबको अस्थायी टहरामा रहेकाले भवन निर्माणका लागि आवश्यक स्रोतसाधनको खोजीमा रहेको उहाँले जानकारी गराउनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानलाई अझै विशिष्टीकृत गरी २०६४ सालमा तीनवटा प्रतिष्ठान गठन गरिएको थियो । त्यसैमध्येको एउटा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान हो । प्रधानमन्त्री कार्कीले सम्बन्धित मन्त्रालय तथा अन्य निकायहरुसँग परामर्श गरी यसबारे आवश्यक पहल गर्ने बताउनुभयो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


