काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा विविधता हुनु लोकतन्त्रको सुन्दर पक्ष भए पनि राष्ट्रिय हितका सवालमा देशभित्रका सबै शक्ति एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा निर्वाचनका लागि ११४ राजनीतिक दल दर्ता भएको सन्दर्भ उल्लेख गर्दै फरक–फरक विचार भए पनि राष्ट्रको हितमा सबै एक ठाउँमा उभिनु आवश्यक रहेको धारणा राख्नुभयो ।
‘चुनावमा भाग लिन ११४ दल दर्ता भएका छन्, फरक विचार भएर नै यति धेरै दल दर्ता भएका होलान्,’ उहाँले भन्नुभयो, ‘आफ्ना विचारको पैरवी गर्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष हो। तर राष्ट्रिय हितका विषयमा भने सबै शक्ति एक ठाउँमा उभिनुपर्छ ।’ प्रधानमन्त्री कार्कीले वर्तमान परिस्थितिमा निर्वाचनको पक्षमा सबै एकताबद्ध हुने समय आएको बताउँदै निर्वाचन नै जनताबाट विचार अनुमोदन गराउने वैधानिक माध्यम भएको उल्लेख गर्नुभयो ।
‘सबैको विचार एउटै हुँदैन, मेरो विचार मात्र ठिक भन्नु लोकतन्त्रसम्मत हुँदैन,’ उहाँले भन्नुभयो, ‘आफ्ना विचार जनतामाझ लैजाने र अनुमोदन गराउने अवसर निर्वाचन हो, त्यसैले निर्वाचनलाई सफल पार्नुपर्छ ।’ सरकार निर्वाचन सफल बनाउन सम्पूर्ण तयारीमा जुटिसकेको जानकारी दिँदै उहाँले सुरक्षाका विषयमा आशंका नगर्न आग्रह गर्नुभयो ।
‘हतियार र कैदी फिर्ता भइसकेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराइसकिएको छ,’ उहाँले भन्नुभयो, ‘निर्वाचनका लागि छुट्टै प्रहरी भर्ती प्रक्रिया पनि अघि बढेको छ । ठूलै प्राकृतिक विपत्ति आएबाहेक फागुन २१ गतेको चुनाव कुनै हालतमा सर्दैन ।’
प्रधानमन्त्री कार्कीले मत–मतान्तर र छलफल लोकतन्त्रको सामान्य प्रक्रिया भए पनि देशले ठूलो क्षति बेहोरिसक्दा समेत आत्मसमीक्षा नगर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्नुभयो। ‘हामी बाहिरका तत्वलाई दोष दिन्छौँ, तर ती तत्वलाई खेल्ने ठाउँ कसले बनायो भन्ने प्रश्नतर्फ फर्केर हेर्दैनौँ,’ उहाँले भन्नुभयो । मुलुकमा पुरानो र नयाँ विचारबीच द्वन्द्व देखिए पनि त्यसलाई पारिवारिक वातावरणमा समाधान गर्नुपर्ने उल्लेख गर्दै उहाँले सुधार र आत्मसमीक्षा अपरिहार्य भएको बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले यो सरकार चुनाव गराउनकै लागि गठन भएको दोहो¥याउँदै निर्धारित मितिबाट पछि हट्ने छुट सरकारसँग नरहेको स्पष्ट पार्नुभयो । यसैबीच, नागरिक बचाउ दल, नेपालका अध्यक्ष माधव कल्पितले प्रधानमन्त्री कार्कीसमक्ष पाँच सूत्रीय ज्ञापनपत्र बुझाउनुभएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


