Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

दिगो हिमाली भविष्यका लागि एभरेस्ट समिटियर्स समिट २०२६ घोषणा


ग्लोबल पाना
आइतबार, पुस १३ २०८२
  • 458
    SHARES

  • images
    दिगो हिमाली भविष्यका लागि एभरेस्ट समिटियर्स समिट २०२६ घोषणा

    काठमाडौं । एभरेस्ट एलायन्स नेपालले “Himalayan Innovation for a Sustainable Future” भन्ने मूल नाराका साथ एभरेस्ट समिटियर्स समिट २०२६ आयोजना गर्ने औपचारिक घोषणा गरेको छ । उक्त घोषणा आइतबार काठमाडौँस्थित द सोल्टी होटलमा आयोजित कार्यक्रममा गरिएको हो । समिट आगामी सन् २०२६ मे २७ मा काठमाडौँमा आयोजना हुनेछ ।

    images
    images
    images

    यो कार्यक्रम तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीद्वारा सगरमाथाको ऐतिहासिक पहिलो आरोहणको स्मरणमा मनाइने अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर आयोजना गर्न लागिएको हो । पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करणका रूपमा आयोजना हुन लागेको यस समिटमा नेपालसहित विश्वभरका सगरमाथा आरोही, नीति–निर्माता, पर्वतारोहण संस्था, संरक्षण अभियन्ता, पर्यटन व्यवसायी, अनुसन्धानकर्ता तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

    समिटले पर्वतारोहणको ऐतिहासिक धरोहर, आरोही सुरक्षा, जलवायु परिवर्तन, दिगो तथा हिमाली पर्यटनको भविष्यबारे उच्चस्तरीय छलफलको मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ। एभरेस्ट एलायन्स नेपालका अनुसार सन् २०२५ मा “Honoring the Legends, Inspiring the Future” भन्ने नारासहित सम्पन्न पहिलो एभरेस्ट समिटियर्स समिट नेपालका पर्वतारोहण कार्यक्रमहरूमध्ये एक प्रभावशाली र ऐतिहासिक आयोजनाका रूपमा स्थापित भएको थियो। उक्त समिटले विश्वभरका सगरमाथा आरोही, सरकारी प्रतिनिधि, अन्तर्राष्ट्रिय पर्वतारोहण संस्था, संरक्षण विज्ञ, पर्यटन क्षेत्रका सरोकारवाला तथा सञ्चार माध्यमलाई एकै थलोमा ल्याउँदै अर्थपूर्ण नीतिगत छलफल र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाएको आयोजकको भनाइ छ ।

    दोस्रो संस्करणलाई केवल स्मरण समारोहमा सीमित नराखी सगरमाथा आरोहीहरूको सम्मान, आरोहण अनुभवहरूको संरक्षण, अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन तथा नैतिक र समुदाय–केन्द्रित पर्वतीय पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिने जनाइएको छ । एकदिने समिटमा मुख्य वक्तव्य, विशेषज्ञ प्यानल र नीतिगत संवादहरू समावेश हुनेछन्, जसमा हिमनदी पग्लिने समस्या, फोहोर व्यवस्थापन, आरोहीहरूको समृद्धि, अभियान सुरक्षा तथा नीतिगत सुधारजस्ता उच्च हिमाली क्षेत्रका ज्वलन्त विषयमा छलफल हुनेछ ।

    समिटका सत्रहरू सगरमाथा आरोही, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ र संस्थागत नेतृत्वद्वारा सञ्चालन गरिनेछन् । साथै, सगरमाथालाई साझा विश्व सम्पदा मान्दै यसको सामूहिक संरक्षणको आवश्यकता पुनः पुष्टि गरिने आयोजकले जनाएको छ। एभरेस्ट एलायन्स नेपालले सरकारी निकाय, अन्तर्राष्ट्रिय संस्था, पर्वतारोहण महासंघ, शैक्षिक संस्था, प्रायोजक, विश्वव्यापी आरोहण समुदाय तथा सञ्चार माध्यमलाई एभरेस्ट समिटियर्स समिट २०२६ लाई विश्वस्तरीय ऐतिहासिक कार्यक्रम बनाउन सहकार्यका लागि आह्वान गरेको छ ।

    यसैसँग समिटमा सहभागिताका लागि विश्वभरका सगरमाथा आरोही तथा इच्छुक सहभागिहरूका लागि दर्ता प्रक्रिया औपचारिक रूपमा खुला गरिएको जानकारी पनि गराइएको छ । एभरेस्ट एलायन्स नेपाल सगरमाथा आरोही तथा पर्वतीय पेशेवरहरूको राष्ट्रिय साझा मञ्च हो, जसले सगरमाथाको विरासत संरक्षण, आरोही सुरक्षा, वातावरणीय दिगोपन र नैतिक पर्वतारोहण अभ्यासका साथै विश्वव्यापी पर्वतारोहण तथा हिमाली संरक्षणमा नेपालको नेतृत्व सुदृढीकरणका लागि निरन्तर काम गर्दै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ