काठमाडौं । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २६ ले वडाका बालाजु क्षेत्रबाट भित्र जडान गरिएका ७७ वटा सीसीटिभी क्यामरालाई फाइवर इन्ट्रानेटमा जडान गरेको छ । नेपाल टेलिकमसँगको सहकार्यमा फाइबरबाट जडान गरिएका सीसीटिभी क्यामराका दृश्यहरु वडा कार्यालयमा राखिएको मोनिटरमा हेर्न मिल्छ । आज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता नविन मानन्धर र वडाध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले संयुक्त रुपमा प्रणाली शुभारम्भ गर्नुभएको हो । यसका लागि वडाले करिब १ करोड रुपियाँ खर्च गरेको छ ।
कार्यक्रममा वडाध्यक्ष एवं संयोजक तिवारीले भन्नुभयो, ‘यस प्रकारको प्रणाली सम्भवतः नेपालमै पहिलो पटक कार्यान्वयनमा ल्याइएको हो । यही प्रणालीलाई महानगरपालिकाभित्र सबैतिर विस्तार गर्दैछौँ ।’ वडाको आवश्यकताका विषयमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘वडाको भौगोलिक क्षेत्रभित्रका लागि २ सय वटा क्यामरा आवश्यक छन् । चरणवद्ध रुपमा हामी यी क्यामरा जडान गर्नेछौँ ।’ सुरक्षा, सहरी विकास र विकास व्यवस्थापनका लागि प्रविधिको दिगो पूर्वाधार निर्माण गर्ने तथा सुरक्षा निकायसँग सहकार्य गर्ने योजना रहेको उहाँको भनाइ छ ।
सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार सहरभित्रका सीसीटिभी क्यामराबाट प्राप्त दृश्यको निगरानी गर्न बालाजु वाइसधारा उद्यान क्षेत्रमा सर्भलेन्स रुम (निगरानी कक्ष) निर्माणका लागि निर्माण पक्षसँग सम्झौता भइसकेको छ । प्रणाली विस्तारको प्रगतिका विषयमा कुरा गर्दै उहाँ भन्नुहुन्छ, ‘वडा नम्बर ३० मा प्रणाली जडान भइसकेको छ । वडा नम्बर ३२ को बोलपत्र आव्हान हुने चरणमा छ । वडा नं. १४ को बोलपत्र आव्हान भइसकेको छ । वडा नं. ३ को बोलपत्र आव्हान हुने चरणमा छ ।
यसरी प्रणाली विकास भइसकेपछि तार चुँडिएर क्यामरा नचल्ने तथा काम नलाग्ने हुने, विगतको समस्या पूर्ण रुपमा समाधान हुनेछ । तारको गुजुल्टोले कुरुप सहरी सुन्दरतामा सुधार आउनेछ ।’ महानगरपालिकाको गौरव योजना ‘महानगरपालिकाले देख्छ’ कार्यक्रमका ५ वटा प्याकेज मूल्याङ्कन चरणमा छन् । सरकारले प्रदान गर्ने सेवा सरकारी निकायबाट लिने अभ्यासका कोणबाट यो सहकार्य सिकाइ योग्य छ । नेपाल टेलिकमका उपप्रबन्धक इञ्जिनियर निर्मलराज चटौत भन्नुहुन्छ, ‘महानगरपालिकाले हरेक सीसीटिभी क्यामरालाई फाइबर सञ्जालमा जोडेर निगरानी कक्षमा लैजान हामीसँग सहकार्य गरेको छ ।
हामी इन्ट्रानेट लिङ्कमार्फत निगरानी कक्षमा क्यामराबाट कैद भएका दृश्य पु¥याउँछौँ ।’ प्राइमरी नेटवर्क भूमिगत हुने भएकोले सहरमा तारको जञ्जाल नदेखिने, सेवामा समस्या न्यूनीकरण हुने, समस्यालाई तत्काल समाधान गर्न सकिने खालको हुन्छ । चटौतले जानकारी दिनुभयो । सूचना प्रविधि अधिकृत इञ्जिनियर माधव खनालका अनुसार क्यामराले अल्ट्रा एचडी (फोरके ३८४०×२१६०) क्वालिटीका दृश्य खिच्छ । एआइमा आधारित हरेक क्यामरामा ८ वटासम्म सेन्सर जोड्न मिल्छ । यी क्यामराहरु ओपन नेटवर्क भिडियो इन्टरफेस फोरम (ओएनभीआइएफ) प्रोकोकलका हुन् । क्यामराका विशेषता बताउँदै खनाल भन्नुहुन्छ, ‘बत्ती गए पनि यी क्यामरा चल्ने व्याकअप पावरको व्यवस्था गरिएको छ ।
पीटीजेड (स्वचालित रुपमा दायाँबायाँ घुम्ने, तलमाथि सर्ने र जुम इन तथा जुम आउट हुने)’ क्यामराले ५५० मिटरसम्म दुरीका दृश्यहरु स्पष्ट रुपमा खिच्न र कैद गर्न सक्छ । बुलेट क्यामराले ६० मिटरसम्मको स्पष्ट दृश्य दिन्छ । क्यामराबाट सम्बन्धित अधिकारीलाई आवाजसहितको दृश्य, नोटिफिकेसन पठाउन सकिन्छ । इन्बिल्ट एआई फिचर भएका यी क्यामराले, सवारी साधनको नम्बर प्लेट, मानिसको अनुहार, मानिस तथा सवारी साधन आवतजावतको गणना गर्न सक्छ ।
वातावरणको अवस्था देखाउन सक्छ । यी क्यामराहरु ८ मेगापिक्सेल र ४ मेगापिक्सेलका हुन् ।’ यी क्यामराबाट दृश्य मात्र नभइ सहरी अवस्था, चालचलन, आवतजावत, वातावरणलगायत पक्षको तथ्याङ्क पनि दिने भएकोले भविष्यमा तर्जुमा गरिने स्मार्ट सहरको नीति तथा कार्यक्रम र विनियोजन गरिने बजेटका लागि आधार दिन सक्छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


