काठमाडौँ । स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने मूल नाराका साथ आगामी २०८२ साल माघ १ गते देशभर एघारौँ राष्ट्रिय योग दिवस विविध कार्यक्रमसहित मनाइने भएको छ । नेपाल सरकारले प्रत्येक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने निर्णयअनुसार यस वर्ष पनि संघीय, प्रदेश तथा स्थानीय तहमा चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने भएका छन् ।
कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु, काठमाडौंका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवले योगको महत्वबारे धारणा राख्दै भन्नुभयो, “योग केवल शारीरिक अभ्यास मात्र होइन, मानसिक सन्तुलन, सकारात्मक सोच र स्वस्थ जीवनशैलीको आधार हो । वर्तमान समयमा बढ्दो नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याको समाधानका लागि योगलाई दैनिक जीवनको अनिवार्य अभ्यासका रूपमा अपनाउनु आवश्यक छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले योग सेवालाई आधारभूत स्वास्थ्य सेवाको अभिन्न अङ्गका रूपमा विस्तार गर्दै आएको छ ।”
कार्यक्रममा आयुर्वेद तथा योग विशेषज्ञ डा. पुनेश्वर केशरीले पनि योगको व्यवहारिक र उपचारात्मक पक्षमाथि प्रकाश पार्दै भन्नुभयो, “आजको भागदौडयुक्त जीवनशैलीमा मानिसहरू तनाव, चिन्ता र जीवनशैलीजन्य रोगको चपेटामा परिरहेका छन् । योगले शरीर, मन र आत्मालाई सन्तुलनमा राख्दै रोगको मूल कारणमै काम गर्छ । नियमित योग अभ्यासले औषधिमाथिको निर्भरता घटाई नागरिकलाई आत्मनिर्भर स्वास्थ्यतर्फ उन्मुख गराउँछ ।”
संविधान २०७२ ले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेअनुरूप आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमार्फत योग सेवालाई पनि आधारभूत स्वास्थ्य सेवाको अभिन्न अङ्गका रूपमा विस्तार गरिएको छ। हाल देशभरका आयुर्वेद स्वास्थ्य संस्थाहरूबाट प्रवर्द्धनात्मक तथा उपचारात्मक (थेराप्युटिक) योग सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा देशभरका आयुर्वेद स्वास्थ्य संस्थाबाट २१ लाख ९० हजारभन्दा बढी नागरिकले योग सेवा लिएका तथ्याङ्कले योगप्रतिको बढ्दो जनविश्वास पुष्टि गरेको छ। योगलाई नागरिकको जीवनशैलीमा समावेश गर्ने उद्देश्यले विद्यालय आयुर्वेद तथा योग कार्यक्रम र ७५३ वटै स्थानीय तहमा सञ्चालनमा रहेका नागरिक आरोग्य सेवा केन्द्रहरू मार्फत नियमित योग सेवा प्रवाह भइरहेको छ ।
यसले ग्रामीण तथा दुर्गम क्षेत्रसम्म योगको पहुँच विस्तार गर्दै स्वस्थ समाज निर्माणमा टेवा पुर्याएको पाईन्छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


